डार्फरमा खटिएका शान्ति सेनाको म्याद चार महिना थपियो

संयुक्तराष्ट्रसंघ (रासस/सिन्ह्वा)- सुडानको डार्फरमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकको म्याद अरु चार महिना थप्न सुरक्षा परिषदले स्वीकृति दिएको छ । राष्ट्रसंघ सुरक्षा परिषदले डार्फरमा युनामिडको म्याद आगामी अक्टोबर ३१ सम्म मात्र थप गरेको हो । यसअघि डार्फरमा तैनाथ शान्ति सेनाको म्याद एकएक वर्ष थप्ने गरिएको थियो । साथै, एक वर्षअघि शान्ति मिसनमा कार्यरत सैनिकको संख्या कटौती गर्ने निर्णय भए पनि त्यसलाई यथावत राखिएको छ ।

सन् २०१८ को जुलाईमा बसेको सुरक्षा परिषद् बैठकले एक प्रस्ताव पारित गरी डार्फर मिसन सन् २०२० को जुन महिनाबाट हटाउन सक्ने निर्णय गरेको थियो । तर सुडानमा भएका पछिल्ला राजनीतिक घटनाक्रमले शान्ति मिसन बन्द गर्न वा शान्ति सेनाको सङ्ख्या कटौती गर्न निकै कठिन रहेको सुक्षा परिषद्को प्रतिवेदनमा उल्लेख छ ।

गत अप्रिल ११ मा सुडानका राष्ट्रपति ओमार अल बासिरविरुद्ध राष्ट्रव्यापी प्रदर्शन तीव्र भएसँगै सेनाले नै बासिरलाई सत्ताच्यूत गरेपछि सुडानको स्थिति निकै कमजोर बनेको छ । अहिले संक्रमणकालीन सैनिक परिषद्ले मुलुकको शासन सञ्चालन गरिरहेको छ ।

सुडानमा तैनाथ शान्ति मिसनबाट सैनिक कटौती गर्न सुडानमा अन्तर्राष्ट्रिय रुपमै मान्यताप्राप्त सरकार गठन हुनुपर्ने राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रले बताएका छन् ।