खलो प्रथा र यसभित्रको कथा पनि खल्लो

रुकुमपूर्व -करीब पाँच दशकदेखि फलाम पिट्दै आएका सिस्ने गाउँपालिका–१ का राजु कामीलाई खलो प्रथाबाट परिवार पाल्न मुस्किल भएको छ । आफूले १५ वर्षको उमेरदेखि नै पलाम पिट्न थालेको बताउने उनले फलामका भाँडा बनाएबापत स्थानीय बासिन्दाले आफूलाई वर्षमा प्रतिघर चार पाथी अन्न दिँदै आएको बताए ।

वर्षभरि फलाम पिटेर प्रत्येक घरबाट दुई पाथी गहुँ र दुई पाथी मकै पाउने गरेको र त्यसबाट परिवार पाल्न मुस्किल परेको उनको भनाइ छ ।

त्यस्तै पुथा उत्तरगङ्गा गाउँपालिका–१४ का गाइने कामीलाई पनि परम्परागत आरन व्यवसायबाटै भएको आम्दानीले छ जना परिवारको गुजारा चलाउन मुस्किल भएको छ । उनको आम्दानीको स्रोत भनेको एउटा आरनबाहेक अरु केही छैन । जिल्लामा आरन सञ्चालन गरेर जीवन गुजारा गर्नेहरुको सङ्ख्या झण्डै १३० को हाराहारीमा रहेको सिस्ने गाउँपालिका उपाध्यक्ष गोवद्र्धन बुढाले बताए ।

यहाँ आरन व्यवसायमा दलित जातिको बाहुल्य छ । उनीहरुसँग पर्याप्त जग्गा जमीन नहुँदा कृषि पेशामा पनि लाग्न पाएका छैनन् । कतिपयको त आफ्नो नाममा एक टुक्ता पनि जमीन नहुँदा सार्वजनिक जग्गा वा अर्काको जग्गाामा छाप्रो राखेर बस्न बाध्य भएका छन् । बजारमा स्टिल र प्लाष्टिकको भाँडाको प्रयोग बढेसँगै वर्षौंदेखि गाउँगाउँमा सञ्चालन भएका आरनको संरक्षण हुन सकेको छैन ।

परम्परागत रुपमा सञ्चालनमा आएका आरनमा फलामका भाँडावर्तन बनाइदिएको साटो खलो उठाएर खाने गरेको भूमे गाउँपालिकाका अर्का आरन व्यवसायी सेतु विकले बताए ।

छिल्लो चरणमा स्थानीय तहले आरन संरक्षणतर्फ पनि बजेट छुट्याएका छन् । सिस्ने गाउँपालिकाले गाउँपालिकाका विभिन्न वडाहरुमा आरन सञ्चालनको लागि भवन निर्माण गरिदिएको छ भने आरनसम्बन्धी तालीम पनि सञ्चालन गरिएको उपाध्यक्ष बुढाले बताए ।