दलित–दलितबीचमै पानी बाराबार

मार्तडी- दलितलाई गैरदलित उत्पीडन, विभेद र खानेपानीका धारासमेत छोइछिटो हाल्नेप्रति विरोध जनाउँदै आएका छन् । गैर दलितभन्दा पनि दलित–दलितबीचको ठूलो विभेदको रहस्य बाहिर नआउँदा खासै चर्चा पाएको छैन ।

लोकतान्त्रिक गणतन्त्रमा गैर दलितले दलितले दिएको पानी खाने भए पनि एक दलित अर्को दलितले छोएको पानीसमेत खाने गरेका छैनन् । जिल्लाका पुस्तौँदेखि मान्दै आएका रीतिरिवाज संस्कृति र छुवाछूत, चालचलनलाई अन्त्य गर्न नसक्दै दलित–दलितबीचको विभेद कायमै रहेको दलित अगुवाले बताउने गरेका छन् ।

जिल्लामा बस्दै आएका विभिन्न थरमा दलितबीचको समन्वय भए पनि उनीहरुले एक अर्काको हातको पानीसमेत चल्दैन । ल्वारले नेपाली, सेरालाले कामी, गन्र्धवले कडारालगायतका थर भएका दलितले छोएको पानी र पकाएको खाना मात्र नभई घरभित्र जान नदिने प्रचलनको अन्त्य हुनुपर्ने बूढीगङ्गा नगरपालिका–३ का नरबहादुर सेरालाले बताए ।

जिल्लामा ल्वार, नेपाली, गन्धर्व, कामी, कडारा, चदारा, उखेडालगायतका थर भएका दलित बसोबास गर्दै आइरहेका छन् । उनीहरु एकअर्काले ल्याएको खानेकुरा खाने गरेका छैनन् । सेरालाले भने, “गैर दलितभन्दा दलित दलितबीचको छुवाछूत तथा अन्तरजातीय विभेदको अन्त्य गर्नुपर्छ ।”

गैर दलितले गर्ने व्यवहार र विभेदभन्दा पनि दलित–दलितबीचको विभेद अन्त्य गर्नुपर्ने बूढीगङ्गा नगरपालिकाका दलित वर्गले जोड दिएका छन् । उनीहरुले गैर दलितले आफूहरुलाई अपहेलना गरेको पानी छुनसमेत दिएन भन्नुभन्दा पनि दलित–दलितबीचको विभेद अन्त्य गर्न आवश्यक रहेको अन्तर दलित छुवाछूत अन्तक्र्रिया कार्यक्रममा सहभागी बूढीगङ्गा नगरपालिका–२ बजेडीकी ललिता ल्वारले बताइन् । उनले भनिन्, “दलितले एकै भान्सामा पकाएको खाना, एकै गाग्रीमा ल्याएको पानी खान नसक्ने हामी दलित वर्गका मान्छेले गैर दलितले छुवाछूत ग¥यो भन्नु गलत सोचाइ हो ।”

ल्वारले खाना पानी र एकआपसमा विभेद तथा अन्तरदलितको थरको छुवाछूतको अन्त्य गर्नुपर्नेमा जोड दिइन् । अन्तर दलितबीचको छुवाछूत र विभेद अन्त्य गर्नसके गैर दलितसँग जातीय विभेदविरुद्ध लड्न सहज हुने बूढीगङ्गा नगरस्तरीय दलित नेटवर्कका अध्यक्ष सचेन्द्र नेपालीले बताए । उनले गैर दलितभन्दा पनि दलित–दलितबीचको एकता, छुवाछूत तथा विभेदलाई अन्त्य गर्न दलितका नेतृत्व वर्गले अग्रसर हुनुपर्ने अध्यक्ष नेपालीको भनाइ छ ।

अध्यक्ष नेपालीले गैर दलितले गरेको अन्याय र छुवाछूतका अन्तरदलित छुवाछूतलाई न्यूनीकरण गर्न नगरपालिकाले सचेतना कार्यक्रम गर्दै लैजानुपर्ने बताए । बूढीगङ्गा नगरपालिकाका उपप्रमुख तारा खातीले दलित–दलित अर्थात् अन्तर दलितबीचको छुवाछूत अन्त्य गर्नका लागि नगरपालिकाले नीति तथा कार्यक्रम ल्याउने बताए । उनले नगरपालिकालाई जातीय छुवाछूतमुक्त नगर बनाउन नगरपालिकाले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताए ।

बूढीगङ्गा नगरपालिकाको आर्थिक सहयोग तथा बूढीगङ्गा नगरस्तरीय दलित नेटवर्कले आयोजनामा उक्त अन्तक्र्रिया कार्यक्रम शनिबार सोही नगरपालिका १, २ र ३ वडाका ५५ जना दलितको सहभागिता रह्यो ।