पानी माग्दै देवताको शरणमा स्थानीयवासी

जाजरकोट- लगाएको बाली खेतबारीमै सुक्न थालेपछि डोल्पाका किसान पानी माग्दै देवताको शरणमा पुगेका छन् । बाली लगाएदेखि अहिलेसम्म पानी नपर्दा मकै, धान सुक्न थालेपछि यहाँका किसानले चर्चित श्रीवाला त्रिपुरासुन्दरी मन्दिरमा पुगेर बलिसमेत चढाएका छन् । लामो खडेरी भई बाली सुकेपछि श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरबाट बाजागाजा शङ्खध्वनिसहित भगवतीको निशान निकालेर जलजात्रासमेत गरेको स्थानीय पूर्णचन्द्र न्यौपानेले बताए ।

मानव उत्पत्तिको समयमा त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा मेघले समेत तपस्या गरेको हिन्दूहरूको आस्थाको धार्मिकग्रन्थ श्रीस्वस्थानीमा समेत वर्णन गरिएकाले पनि भगवतीलाई वर्षात्का देवीको रूपमा समेत लिने गरिएको मन्दिरका पुजारी लक्ष्मीप्रसाद उपाध्यायले बताए ।

मन्दिरको फेदमा रहेको सिम कुनामूलस्थित मुहान, रल्ली सिमकुना मुहान र गल्लीस्थित भगवतीको गुठी जग्गामा रोपिएका धान खेतमा हिलो खेलेर आकाशतर्फ मन्दिरमा नित्यपूजा गरेर जल छर्कने गरिन्छ । डोल्पामा आकाशे पानीको भरमा खेती गरिँदै आएको छ ।

जिल्लाका त्रिपुरासुन्दरी, मुड्केचुला गाउँपालिका र ठुलीभेरी नगरपालिकामा पानी नपर्दा किसानको खेतबारीमा लगाएको बाली सुकेको छ । उत्पादनका हिसाबले निकै कम उर्वरभूमि रहेको डोल्पामा अधिकांश आयातित वस्तुले यहाँका स्थानीयवासीको दैनिकी चलेको छ । यहाँको ३० प्रतिशत भू–भागमा मात्र सिँचाइ सुविधा छ । यहाँको मुख्य बाली मकै, कागुनु र उवा सिमी हुन् ।