मध्यपहाडी लोकमार्ग भासियो

बलेवा– मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङ सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा बनेको कृत्रिम ताल आसपासमा सडक भासिएको छ । सो ठाउँमा पहिरोसमेत खसेको छ ।

वर्षासँगै तालमा पानीको मात्रा बढेपछि मध्यपहाडी लोकमार्ग लगातार कटान भइरहेको छ । कतिपय स्थानमा सडक भासिन थालेको छ । कृत्रिम ताल फुट्न सक्ने खतरा रहको स्थानीयवासीले बताएका छन् । पहिरोका कारण मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध हुन थालेको स्थानीयवासी दिनेश शर्माले बताए । “सडक भासिने र पहिरो खस्ने जोखिम बढेको छ”, उनले भने ।

गत वर्ष भदौमा पहिरो खस्दा बडिगाडखोला थुनिएर तीन सय मिटर क्षेत्रमा ताल बनेको थियो । सो क्षेत्रमा पहिरो खसे ढोरपाटन नगरपालिकाको भाग डुबानमा पर्ने तथा ताल फुटे बडिगाडलगायत गुल्मीका तटीय क्षेत्रमा क्षति पुग्ने देखिएको भीमगिठे प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक ऋनबहादुर वैदारले बताए ।