सप्तकोशी नदीमा खतराको बत्ति बालियो, स्थानीयलाई सतर्क रहन आग्रह

इटहरी- पूर्वमा अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशीमा शुक्रबार बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको ब्यारेज प्रहरीले जानकारी दिएको छ।पानी निकासीको लागि ५६ मध्ये २३ वटा ढोका खोलिएको छ । सप्तकोशीको पानीको बहाव कोशी ब्यारेजमा मापन गरिन्छ । पानीको बहाव निरन्तर बढ्दै आएको ब्यारेजमा कार्यरत प्रहरी असइ ईश्वरी दाहालले जानकारी दिए । दाहालका अनुसार बिहीबार राती पानीको बहाव १७८११० क्युसेकपुगेको थियो ।

बिहान ४ बजे केही घटेर १६८८२० पुगे पनि ८ बजेदेखि फेरि बढ्न थालेको हो ।पानीको बहाव डेढ लाख क्युसेक नाघेसँगै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएको छ । स्थानीय प्रशासनले नदीको किनारमा रहेका स्थानीयहरु लाई सतर्क रहन सुचना जारी गरेको छ ।कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ति बाल्ने र रातो झण्डा फहराउने गरिन्छ । ६ लाख क्युसेक भार बहन क्षमता रहेको कोशीमा बालुवाका कारण पानीको सतह बढेकोले थोरै बहावमै कोशी ब्यारेजमा दबाब पर्ने गर्छ।

२०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा नै सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएर साबिक हरिपुर, श्रीपुर, पश्चिम कुशाहा र लौकही गाविस डुबानमा पारेको थियो । त्यसपछिका वर्षहरुमा अढाई लाख क्युसेकसम्म पुगेको थियो ।सप्त कोशी पूर्वी तटबन्ध भत्काएर गाउँ पसेपछि हजारौं मानिस विस्थापित भएका थिए । राजमार्ग भत्काउँदा लामो समयसम्म पूर्वी नेपाल पश्चिमसँग सम्पर्क विच्छेद् भएको थियो भने हजारौं विगाहा खेती योग्य जमिन वर्षौंसम्म बालुवाले पुरिएको थियो । अहिले पनि धेरै पानी पर्ने बित्तिकै सो क्षेत्रका स्थानीयहरु डरले त्रसित हुने गरेका छन् ।