अझै दुई दिनसम्म लगातार वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीको विषम अवस्था आगामी दुई दिनसम्म रहने भएकाले जनसाधारणलगायत सबै सरोकारवालालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ ।

साथै आवश्यक परे विभागको मौसम तथा बाढी पूर्वानुमान शाखामा सम्पर्क गरी आवश्यक सूचना प्राप्त गर्नसक्ने व्यवस्था विभागले गरेको छ । विभागले मौसम तथा बाढीको दैनिक पूर्वानुमानलगायतका सूचना तथा बुलेटिनहरु वेबसाइट, इमेल, सामाजिक सञ्जालमार्फत सम्प्रेशण गर्र्दै आइरहेको विभागका प्रवक्ता एवं वरिष्ठ मौसमविद् अर्चना श्रेष्ठले बताइन् । नदीका जोखिमयुक्त तटीय क्षेत्रमा उच्च सतर्कताको सूचना एसएमएसमार्फत प्रवाह गरिरहेको उनले बताइन् ।

विगत केही दिनदेखि नेपालमा मनसुन सक्रिय भइरहेको र बिहीबारदेखि मनसुन थप सक्रिय भएको छ । बिहीबारदेखि नेपालका मध्य तराई क्षेत्रमा सशक्त न्यून चापीय प्रणालीसमेत विकसित भएको छ । जसका कारण मध्य तथा पूर्वी नेपालको पहाडी र तराई क्षेत्रमा अविरल वर्षा भई आज बिहानदेखि वाग्मती र कमला लगायत सो क्षेत्रका स–साना नदीमा समेत बाढीले खतराको तह पार गरेको छ ।

विभागकै मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश स्थानमा निरन्तर मनसुनी वर्षा सक्रिय भएपछि विशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण अवरोध आउनसक्ने भन्दै उच्च सतर्कता अपनाउन सुझाएको छ ।

महाशाखाले आज साँझ मौसम पूर्वानुमानसम्बन्धी थप बुलेटिन जारी गरी पछिल्लो मौसमी अवस्थाको मौसम विश्लेषण गरेको छ । मुलुकको पूर्व र मध्य क्षेत्रका केही स्थानमा र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए । पूर्व र मध्य भागका तराई र पहाडका एक÷दुई ठाउँहरुमा धेरै भारी वर्षा हुने सम्भावना छ । यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडी भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ ।

हाल मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित छ । यसको साथै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यूनचापीय क्षेत्रसमेत रहेको छ । यी प्रणालीहरूका कारण आगामी दुई दिनसम्म मनसुन सक्रिय रहने देखिन्छ ।

हाल देशभर लगातारको मनसुनी वर्षा जारी रहेको छ । आज राति देशभर पूर्ण बदली रही धेरैजसो स्थानमा वर्षा हुनेछ । खासगरी पूर्व र मध्य क्षेत्रमा केही स्थानमा र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

पूर्व र मध्यका भू–भागका तराई र पहाडका एक÷दुई ठाउँहरुमा धेरै भारी वर्षा हुने सम्भावना छ । देशको केही स्थानहरुमा न्यूनचापीय क्षेत्रका कारण हावाहुरीको सम्भावनासमेत रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए ।

शनिबार र आइतबार पनि देशभर वर्षा जारी रहने सम्भावना छ । पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भागका केही स्थानमा र पश्चिमी भागको तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ । पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक÷दुई ठाउँहरुमा धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ ।