बाढी प्रभावितलाई काङ्ग्रेस सांसदले पाँच दिनको तलब दिने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले बाढी, पहिरो र डुबान प्रभावितका लागि राहत स्वरुप पाँच दिनको तलब सहयोग गर्ने भएका छन् । काङ्ग्रेस संसदीय दलले आज एक विज्ञप्तिमार्फत राष्ट्रिय विपद्को दुःखद् घडीमा सबैलाई एकताबद्ध भई विपद्को सामना गर्न आह्वान गरेको छ ।

काङ्ग्रेसले प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अपर्ण तथा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । पाँच दिनदेखि परेको वर्षाका कारण बाढी, पहिरो र डुबानबाट विभिन्न जिल्लाका ६२ नागरिकले ज्यान गुमाएका छन् । कैयौँ नागरिक बेपत्ता, सयौँ घाइते तथा हजारौंँ प्रभावित भएका छन् । महत्वपूर्ण राजमार्ग अवरुद्ध भएको, अत्यावश्यक सेवा अवरुद्ध भएको, अर्बौैँ रुपैयाँ बराबरको घर, खेत, धनमाल र बाली नष्ट भएको वर्तमान अवस्थामा विपद् व्यवस्थापन, उद्धार राहत र पुनःस्थापना सम्बन्धी विषयमा संसद्मा गम्भीर छलफल गर्न आवश्यक भएको काङ्गे्रसले जनाएको छ ।

काङ्ग्रेसले बाढीपहिरोसँग सम्बन्धित अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न प्रतिनिधिसभाको आजको बैठकको अन्य कारवाही स्थगन गरी विपद् व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भनेर ल्याएको प्रस्तावमा सत्तापक्ष सकारात्मक नदेखिएको आरोप लागाएको छ । “यस सम्बन्धमा संसद्मा छलफल गरी सांसदको धारणा सुनेर सरकारले प्रतिबद्धता व्यक्त गर्नुपर्छ । विपद्का बेला सबै शक्ति एकजुट भई यसको सामना गर्न, जनतालाई विश्वास र भरोसा दिलाउन, विपद्बाट उद्धार, राहत र पुनःथापनामा जुट्नुपर्नेमा सरकार संसद्को सामना गर्न नै तयार नहुनु दुःखद् कुरा हो”, काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।