इलाम दरबार अब अरनिको सङ्ग्रहालय

इलाम– आदिकवि भानुभक्त आचार्यको २०६ आँै जन्मजयन्तीको अवसरमा इलाममा एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले अरनिको सांस्कृतिक सङ्ग्रहालयको आइतबार उद्घाटन गरे ।

यसअघि जिल्ला प्रशासन कार्यालय रहेको इलाम दरबार कार्यालयको नयाँ भवन बनेपछि खाली रहेको थियो । इलाम नगरपालिका साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको पहलमा सङ्ग्रहालय पुनः स्थापित गरिएको हो । यसअघि इलामको माईस्थान मन्दिर हातामा उक्त सङ्ग्रहालय रहेको थियो । जङ्गबहादुर राणाका ज्वाइँ तत्कालीन बडाहाकिम गजराजसिंह थापाले विसं १९१९ मा इलाम दरबार निर्माण गरेका थिए ।

कार्यक्रममा इतिहासका जानकार युद्धप्रसाद वैद्यद्वारा लिखित इलाम ः इतिहास र विकास नामक पुस्तक विमोचन गरियो । यस्तै कार्यक्रममा प्राज्ञ कोमल निरौलाको गीति एल्बम विमोचन गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष टीका घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न साहित्यिक श्रष्टाले रामायण वाचनका साथै कविता सुनाएका थिए । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, युद्धप्रसाद वैद्य, इलाम नगर प्रमुख महेश बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, प्रदेशसभा सदस्य धीरेन्द्र शर्मासहितका वक्ताले सङ्ग्रहालयको संरक्षणमा ध्यान पु¥याउन आग्रह गरे ।

पुनःस्थापित सङ्ग्रहालयमा विभिन्न जातजाति विशेषले प्रयोग गरेका सांस्कृतिक पहिचानका सामग्री सङ्ग्रह गरिएका छन् । यसले इलामको महत्व अझ बढाउने र बाहिरबाट आएका पर्यटकको इलाम बसाइ लम्याउन अझ मद्दत गर्ने विश्वास लिइएको छ ।