आफ्नै सन्तान हो/होइन भनेर किन शङ्का गर्छन् आमाबाबु ?

काठमाडौँ– साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइपुगे । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि शुरु भएको तनावका कारण उनी अदालत हुँदै यहाँसम्म आइपुगेका थिए ।

वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले स्वदेशमा बस्न थालेदेखि नै आफू र छोरालाई शङ्का गर्ने गरेको ती महिलाले बताइन् । पटकपटकको झगडापछि उनले अदालतमा माना चामलका लागि मुद्दा हालिन । त्यही मुद्दा अहिले तीन वर्षसम्म टुङ्गिएको छैन । डिएनए परीक्षण गरेर आफ्नो अधिकार लिने मात्रै नभई, लागेको आरोप पनि पखाल्न लागेको उनले बताइन् । उनले भनिन्, “रिपोर्ट हुलाकमार्फत नै जाने भएकाले आउनु पर्दैन भन्नुभएको छ ।”

छोराछोरी निकै ठूला भइसकेपछि पनि ‘मेरो सन्तान होइन’ भनेर श्रीमान्ले शङ्का गरेपछि ती महिला परीक्षणका लागि आउनुभएको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताए । उनकाअनुसार महीनामा झण्डै तीन चार जनासम्म बाबु प्रयोगशालामा ‘सन्तान हो÷होइन शङ्का लाग्यो, डिएनए परीक्षण गराउन चाहन्छु’ भनेर आउने गरेको उनको भनाइ छ । अदालतबाट आउने मुद्दामा सबैभन्दा बढी अंश मुद्दा हुने गरेको छ । आमाभन्दा बढी बाबु विवादित हुने गरेको उनको भनाइ छ । उनले भने, “आमा र बाबु दुवै विवादित भएका दुई तीन वटा मात्रै मुद्दा आएको छ ।”

उनकाअनुसार उमेर ढल्किएकामा समेत आफ्ना सन्तानसँग अविश्वास रहेको पाइन्छ । साठी वर्ष वा त्योभन्दा बढी उमेरका समेत डिएनए परीक्षण गरेर सन्तान आफ्नो हो/होइन भनेर जान्न चाहन्छन् । उनले भने, “हामीले महीनैपिच्छे यस्ता व्यक्तिलाई फर्काइरहेका छौँ ।”

अर्काे एउटा घटनामा केही समय पहिले आफूसँगै परिवारका अरु सदस्यलाई हङ्कङ लैजान एक पुरुष दुई सन्तानको डिएनए परीक्षण गर्न आए । उनीसँग आएका दुई सन्तानको परीक्षण पनि भयो । उनीहरुमध्ये एक जनाको नतिजा सकारात्मक र एक जनाको नकारात्मक आयो । प्रयोगशालाले अहिलेसम्म त्यो नतिजा उनीहरुलाई दिएको छैन । प्रयोगशालाले सम्भव भएसम्म बाबु र आमा दुवैको डिएनए परीक्षण गर्दै आएको भए पनि यो घटनामा बाबु र सन्तानको मात्रै डिएनए परीक्षण गरिएको थियो । प्रयोगशालाले अहिले पनि आमाको डिएनए परीक्षण गर्नुपर्ने भन्दै प्रतिवेदन दिएको छैन ।

यी दुई उदाहरण जस्तै समाज परिवर्तन हुँदै जाँदा समाजमा यी र यस्तै घटना बढ्न थालेका छन् । प्रयोगशालाले मुख्यगरेर अदालत र त्यसबाहेक अध्यागमन विभाग लगायतको सिफारिशमा मात्रै डिएनए परीक्षण गर्दै आएको छ । प्रयोगशालामा कतिपय व्यक्तिले आफ्ना सन्तान आफ्नो हो÷होइन शङ्का लागेकै भरमा परीक्षणका लागि आउने गरेको उनले बताए । कतिपयको भने मेरो सन्तान हो भनेर विश्वास गरेर डिएनए परीक्षण गर्न आउँदा नतिजा नकारात्मक नतिजा आएको पाइन्छ ।

डिएनए परीक्षण गर्न पाउने अधिकार भए पनि व्यक्तिगतरूपमा आएका मुद्दामा राय दिने नगरिएको झाले बताए । अध्यागमनको प्रयोजनका लागि डिएनए परीक्षण गर्ने गरिएकाले कतिपयले झुठो बोलेरसमेत परीक्षण गराउन चाहने उनले बताए । उनले भने, “हामीले पूरै कागजात हेरेर मात्रै काम अघि बढाउँछौँ ।”

नेपालमा विसं २०६२ बाट मानिसको डिएनए परीक्षण शुरु हुँदाभन्दा अहिले डिएनए परीक्षण थप विश्वसनीय भएको प्रयोगशालाका निमित्त कार्यकारी अधिकृत वीरेन्द्रराज शाक्यले बताए । अहिले २७ वटा गुणका आधारमा आमाबाबु र सन्तानको डिएनए परीक्षण हुने गरेको उनले बताए । डिएनए परीक्षण शुरु हुँदा १६ वटा गुणका आधारमा परीक्षण गर्ने गरिएकामा केही वर्ष पहिलेबाट २४ वटा गुणका आधारमा परीक्षण हुने गरेको थियो । दुई वर्ष पहिलेदेखि थप तीन गुणसमेत गरेर २७ वटा गुणका आधारमा परीक्षण भइरहेको छ । उनले भने, “यसले निर्दाेष व्यक्ति बाबु हो भनेर प्रमाणित हुँदैन ।”

नेपालमा अहिले तीन किसिमको डिएनए परीक्षण हुने गरेको छ । आमा, बाबु र सन्तानको डिएनए परीक्षणले सबैभन्दा विश्वसनीय हुने झाले बताए । केही वर्ष पहिलेदेखि पितृत्व पुस्ता निर्धारण गर्ने र मातृत्व पुस्ता निर्धारण गर्ने परीक्षण हुँदै आएको उनले बताए । यी दुवैमा एउटा व्यक्तिको डिएनए सयौँ पुस्तासम्म मिल्न सक्छ । यसले यकिन गरेर व्यक्ति पहिचान नगरे पनि पुस्ता देखाउने उनले बताए । उनले भने, “कुनै पनि घटनामा व्यक्ति नै पहिचान नगरेपनि एउटा दिशातर्फ निर्देशन गर्छ ।” प्रयोगशालाले दुई वर्ष पहिलेदेखि जनावरको समेत डिएनए परीक्षण शुरु गरेको छ ।