सरकारले भोलि विप्लवसँग पहिलोपटक वार्ता गर्दै

काठमाडौं– सरकारले पहिलोपटक नेत्र विक्रम चन्द विप्लव नेतृत्वको सशस्त्र द्वन्द्वरत समूह नेकपासँग भोलि वार्ता गर्ने सरकारको उच्च स्रोतले जानकारी दिएको छ ।

प्रधानन्त्री केपी शर्मा ओलीको निर्देशनमा अनौपचारिक वार्ता हुन लागेको बताइएको हो।

सरकारी वार्ता टोलीले पहिलो चरणमा गर्न लागेको वार्तामा विप्लव नै सहभागी हुने उच्च स्रोतले जनाएको छ। विप्लवसँग मंगलबार विहान नेपालगंजमा ‘ब्रेकफास्ट’ गर्ने स्रोतको भनाई छ।

वार्ताका लागि विप्लव नै आउने वा नआउनेबारे प्रष्ट नपारिए पनि सरकारी टोलीले विप्लव नै वार्तामा सहभागी हुने अपेक्षा गरेको छ।

नेकपा महासचिव विष्णु पौडेल तथा हिरासतमा रहेका विप्लव समूहका नेता हेमन्त प्रकाश वलीबीच गत शनिबार नख्खु कारागारमा भेट भएसँगै वार्ताको लागि वातावरण बनेको स्रोतले बताएको छ ।