नवलपरासीमा बाढीको खबर दिने पूर्वसूचना प्रणाली

परासी– पश्चिम नवलपरासीमा बाढी पूर्वसूचना प्रणाली व्यवस्थित बन्दै गएपछि बाढी पूर्वानुमानको सूचना प्राप्तिमा सहज भएको छ ।

जिल्ला प्रशासन कार्यालयस्थित विपद् व्यवस्थापन कक्षमा जिल्ला आपत्कालीन परिचालन (सूचना) केन्द्र स्थापना गरी जलमापन यन्त्र जडान गरिएपछि बाढी पूर्वानुमानको सूचना प्राप्तिमा सहज भएको हो ।

प्रदेश नं ५ को आन्तरिक तथा कानून मन्त्रालयको सहयोगमा स्थापना गरिएको उक्त सूचना केन्द्रबाट नारायणी नदीको जलसतहको अवस्था तथा मौसमसम्बन्धी पूर्वसूचना आदनप्रदानमा सहज भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताए ।

“उक्त यन्त्रबाट जल तथा मौसम विज्ञान विभागले जारी गर्ने मौसम पूर्वानुमानसम्बन्धी सूचनाका साथै नारायणीलगायतका नदीको जलसतहको अवस्थाको विषयमा जानकारी लिने गरिएको छ, केन्द्रबाट प्राप्त हुने सूचनालाई नदी तटीय क्षेत्र तथा विपद् जोखिमको क्षेत्रका नागरिकलाई पूर्वसूचना दिन सहज भएको छ”, प्रजिअ मरासिनीले भने ।

यो सूचना प्रणालीले सम्भावित बाढीको जोखिमबाट हुने क्षति न्यूनीकरणमा मद्दत पुग्नुका साथै सर्तकता अपनाउन सहजता बनाएको मरासिनीले बताए । आगामी दिनमा बाढी पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजाने उनले बताए ।

केन्द्रबाट प्राप्त हुने सूचना नदी तटीय क्षेत्रका बासिन्दालाई पु¥याउने गरिएको उल्लेख गर्दै सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको जानकारी दिए ।

“जोखिम पहिचान गरी उद्धार सामग्री तथा राहत सामग्री तयारी अवस्थामा राखिएको छ, वडावडामा विपद् व्यवस्थापन समिति तथा कार्यदललाई सक्रिय बनाइएको छ”, उनले भने । हेलिकप्टरमार्फत आपत्कालीन उद्धार गर्नुपर्ने अवस्था आएमा सुस्ताको प्रहरी चौकीमा हेलिप्याड बनाउने गरी कार्य थालनी गरिएको पनि अध्यक्ष पाण्डेले बताए । जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन सक्रिय रहेकाले सबै सुरक्षा निकाय र विषयगत क्षेत्रलाई तयारी अवस्था राखिएको जनाएको छ ।

स्थानीय तहलाई पनि विपद् व्यवस्थापनको तयारी गर्न आग्रह गरिएको छ भने विभिन्न निकाय र सङ्घ संस्थालाई राहत सामग्री तथा सुरक्षा निकायलाई उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिए ।

पश्चिम नवलपरासीमा विपद् जोखिम विश्लेषण गरी क्षति न्यूनीकरणका लागि पूर्वतयारीलाई पनि चुस्त बनाइएको छ । सम्भावित विपद्को जोखिम व्यवस्थापन प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समितिले सरोकार भएका पक्षसँग आवश्यक छलफल गरी विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना–२०७६ निर्माण गरी लागू गरेको छ ।

बाढीको उच्च जोखिममा रहेको पश्चिम नवलपरासीस्थित नारायणी नदीको तटीय क्षेत्र र उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सजगता अपनाउन आग्रह गरिएको छ । जिल्लाका चार गाउँपालिका र दुई नगरपालिका बाढीको उच्च जोखिममा रहेका छन् । तीमध्ये चार गाउँपालिका बाढीको अति उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अनुसार जिल्लाको सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाका १२ वडा अति उच्च जोखिममा छन् भने बर्दघाट र रामग्राम नगरपालिका तथा प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका पाँच वडा उच्च जोखिममा छन् । अति उच्च जोखिममा रहेका वडामा सुस्ता गाउँपालिका २, ३, ४ र ५, प्रतापपुर गाउँपालिका २, ३, ८ र ९ सरावल गाउँपालिका ६ र ७, पाल्हीनन्दन गाउँपालिका १ र ६ छन् ।

यसैगरी उच्च जोखिममा रहेका वडामा बर्दघाट नगरपालिका १५, रामग्राम नगरपालिका–१७, प्रतापपुर गाउँपालिका ६ र ८, पाल्हीनन्दन गाउँपालिका–२ छन् । यसबाहेक जिल्लाका सातवटै स्थानीय तहका २० वडा मध्यम जोखिममा रहेको समितिले जनाएको छ ।

विगतमा बाढीले पु¥याएको क्षति र स्थानीय तहमा उपलब्ध तथ्याङ्कको आधारमा विश्लेषण गरी पश्चिम नवलपरासीमा नारायणी नदीको तटीय क्षेत्र, ठाडा खोला बहने क्षेत्र र पानी निकासको भरपर्दाे व्यवस्था नहुँदा उच्च जोखिम क्षेत्रको रुपमा किटान गरिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मरासिनीले बताए ।

जलउत्पन्न प्रकोपबाट भएको क्षतिलाई आधार मानेर संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले गरेको पछिल्लो जिल्लागत वर्गीकरणअनुसार पश्चिम नवलपरासी १७ औँ सङ्कटापन्न जिल्लाको सूचीमा रहेको छ । यस जिल्लाको विभिन्न क्षेत्रमा डुबान तथा नदी कटान प्रमुख समस्याको रुपमा रहेको छ । प्राकृतिक रुपमा जिल्लामा बाढी, हुरीबतास, आगलागी, महामारी, सर्पदंश, शीतलहर, चट्याङजस्ता विपद्का घटनाले वर्षेनी जनधनको क्षति हुने गरेको छ ।