पर्यटक लोभ्याउँदै ‘रिमिघा लेक’

पाल्पा- रम्भा गाउँपालिका, पाल्पाको फोक्सिङ्गकोट र पिपलडाँडाको सिरमा रहेको रिमीघा लेकमा दिनुहँ पिकनिक मनाउन आउनेहरुको घुईचो लाग्ने गरेको छ । नयाँ वर्ष तथा फुर्सदको मौका पारेर विभिन्न ठाँउबाट रिमीघामा पिकनिक मनाउन आउनेहरुको दिनहुँ घुईचो लाग्ने गरेको छ ।

धार्मिक, ऐतिहासिक, प्राकृतिक र वातावरणीय सौन्दर्यता, जैविक विविधताका साथै पर्यटकीय महत्व बोकेको रिमीघा लेक सुन्दर र रमणीय छ । रिमीघा लेक समुद्र सतह देखि एक हजार सात सय मिटर उचाईमा रहेको छ । यहाँ जोगी गुफा, देश हेर्ने ढुङ्गा, विशाल चउर, टुँडीखेल, ईनार, भुरे राजाले बनाएको घरका भग्नावशेष, तीनकन्या मन्दिर, कालिका देवी मन्दिर लगायतका धार्मिक तथा ऐतिहासिक स्थल रहेका छन् ।

यहाँबाट उत्तर तर्फ रहेको अग्ला अग्ला अन्नपूर्ण तथा धौलागिरी हिमश्रृंखलाका साथै काली गण्डकीको नागवेली मनमोहक दृश्य एकै नजरमा अवलोकन गर्न सकिन्छ । यस पटक नयाँ वर्ष मनाउन मोटरसाईकल तथा जीपमा करिब ६ हजार आन्तरिक पर्यटकको आएको रम्भा गाउँपालिका वडा नं २ का वडा सदस्य चेतबहादुुर सुनारीले बताए ।

रामपुर, सिलुवा, देवीनगर, जल्पा, पिपलडाँडा, हुँगी, फोक्सिङ्गकोट, ताहुँ, हुमीन, चिदीपानी, पूर्वखोला, रिङ्गनेरह, हेक्लाङ्ग लगायतका स्थानबाट मानिसहरु आन्तरिक पर्यटकका रुपमा आउने गर्दछन । सयौं मोटरसाइकलका साथै समूहगत रुपमा जीपमा आएर रिमीघा लेकमा रमाउनेहरु लाली गुराँस टिप्नमा समेत व्यस्त हुने गर्छन । स्थानीय फोक्सिङ्गकोटको माथिल्लो झोकेदी तथा पिपलडाडाको घोङ्गसिङ्गका युवाहरुले खेलकूद, खानेपानी तथा नाचगानको व्यवस्थापन गर्ने गरेका छन् ।

झोकेदीको टिमुर डाडाँ देखी रिमीघा लेक सम्म मोटरबाटो समेत खनिएको छ । मोटरबाटो खन्ने काम सम्पन्न भएकोले आगन्तुकलाई गन्तव्य सम्म पुग्न सजिलो भएको छ । यस क्षेत्रमा खानेपानी व्यवस्थापन, क्रिडास्थल निर्माण, जोगी गुफा जाने बाटो निर्माण, भ्यु टावर निर्माण, मोबाईल टावर निर्माण तथा साहसिक खेल प्याराग्लाईडिङ्गको विकास गर्ने सके पर्यटन विकासमा टेवा पुग्ने देखिन्छ ।