सडक हस्तान्तरण गरेर फर्किदै सेना, अब तिब्बत जोडिने

जाजरकोट– डोल्पामा ११८ किलोमिटर सडकको ट्र्याक खोलेर लक्ष्य पूरा भएको भन्दै सेनाले फर्किन शुरु गरेको छ । करीब १५ वर्ष सडक निर्माणमा खटिएको सेनाले लक्ष्य पूरा भएको भन्दै फर्कन शुरु गरेको हो । सेनाले सडक अब हस्तान्तरण गर्न लागेको निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए ।

सल्यानको सल्लीबजारबाट जाजरकोटसम्म सेनाले निर्माण गरेको बाटोमा पिचसमेत भइसकेको छ । बाँकी जाजरकोटको पासागाडदेखि दुनैसम्मको ११८ किलोमिटर सडक आयोजना सफलतापूर्वक निर्माण पूरा गरेर आयोजना नै विभागलाई हस्तान्तरण गर्न लागिएको सडक निर्माण कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीले जानकारी दिए ।

तत्कालीन विषम परिस्थिति र भौगोलिक विकटता भए पनि सरकारले सेनालाइ दिएको जिम्मेवारी पूरा गर्दै डोल्पालीको भाग्यरेखाका रुपमा रहेको उक्त सडक आयोजना पूरा गरी विभागलाई हस्तान्तरण गर्न लागिएको उनले बताए । उनले भने, “सडक निर्माणको क्रममा थुपै्र चुनौती व्यहो¥यौँ, विकासको मुख्य पूर्वाधारको रुपमा रहेको सडक निर्माणमा दिनरात खटिँदै ज्यान हत्केलामा राखेर सरकारले सेनालाई दिएको जिम्मेवारी पूरा गरेका छौँ ।”

डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्दै नेपाल, चीन र भारत जोड्ने त्रिदेशीय व्यापारिक नाकाका रुपमा विकास गर्न यो सडकको निर्माण थालनी गरिएको हो । रणनीतिक महत्व बोकेको सो सडक विसं २०६५ मा जाजरकोटको पासागाडदेखि निर्माण शुरु गरेर डोल्पा सदरमुकाम दुनैसम्म सडक जोड्न काम थालनी गरिएको थियो । शुरुको दुई वर्ष रेखाङ्कन विवादका कारण निर्माण अवरुद्ध भएको थियो । रेखाङ्कन पुनःनिर्धारण भएपछि २०६६ सालदेखि निर्माणले तीव्रता पाएको थियो ।

“डोल्पालीले सडक पुग्ला भनेर कल्पनासमेत गरेका थिएनन् तर सेनाले जिम्मा लिएर निर्माणकार्य पूरा गरेपछि दुनैसम्म नै जीप, ट्र्याक्टरलगायतका सवारी साधन गुड्न थालेका छन्”, प्रदेशसभा सदस्य वीरबहादुर शाहीले भने, “नेपाली सेनाले जिम्मा नलिएको भए डोल्पासम्म मोटर पुग्ने सम्भावना नै थिएन, सडक पुगेपछि बजार भाउ सस्तिएर सर्वसाधारणलाई राहत मिलेको छ ।”

एक दर्जन पुल आवश्यक

जाजरकोट–डोल्पा सडकको ट्र्याक खुलाउने काम सम्पन्न भए पनि पुल निर्माणको अभावमा खण्ड–खण्डमा यातायात सञ्चालन भइरहेको छ । उक्त सडकअन्तर्गत पर्ने राडीज्युला, तल्नुबगर, हरियापानी, सुङ्पानी, छलगाड, चुँगाड, रुपगाडलगायत एक दर्जन ठाउँमा पक्की मोटरेवल पुल निर्माण गर्न आवश्यक छ । रकुम–जाजरकोट–डोल्पामा पर्ने उक्त स्थानमा चार झोलङ्गे पुल छन् ।

भेरी नदीमा मात्रै आवाश्यक छ पक्की पुलमध्ये रिम्ना र चिसापानीमा पुल निर्माण भइसकेकाले राडिज्युला, तल्लु, हरियापानी र सुङ्पानीमा चार पुल निर्माण गर्न अझै बाँकी छ । सडकलाई बिचमा पर्ने साना ठूला नदीले टुक्र्याइदिएकाले ठाउँठाउँमा गाडी परिवर्तन गरेर यात्रा गर्नुर्ने बाध्यता कायमै छ ।

सडकको स्तरोन्नति गर्न माग

पहिलो चरणको ट्र्याक खुलाउने काम सेनाले सम्पन्न गरिसकेकाले सडकको स्तरोन्नतिका लागि डोल्पालीले सरकारसँग माग गरेका छन् । दोस्रोचरणमा कार्यअन्तर्गत पक्की पुल र कालोपत्रका लागि आवश्यक बजेट व्यवस्थापन गरी काम थालनी गर्न सरकारसमक्ष माग गरिएको छ ।

आयोजनाको पुल निर्माणलगायत कालोपत्रसमेतको स्तरोन्नति कार्य तत्कालै थालनी गर्न सहजता होस् भनेर नै सेना फर्कन शुरु गरेको छ । सरकारले दिएको जिम्मेवारी सेनाले पूरा गरेको पहाडीले बताए । अहिले डोल्पामा रहेका सेनाका अस्थायी क्याम्प सडक निर्माण कार्य सकिएपछि फिर्ता गर्ने कार्य शुरु गरेको छ ।

सरकारको लक्ष्य तिब्बत जोड्ने

दुनैसम्म सडकको ट्र्याक ओल्ने काम पूरा भएकाले उपल्लो डोल्पा धो, तिञ्जे हुँदै तिब्बती नाका मोरिम जोड्ने सडकखण्ड निर्माणको जिम्मा पनि नेपाली सेनालाई दिइएमा छिटो सडक जोडिने डोल्पालीको विश्वास छ । सेनालाई सडक निर्माणको जिम्मा दिएमा काम छिटो हुने कुरामा डोल्पाली विश्वस्त रहेका ठूलिभेरी नगरपालिका जुफालका बालकृष्ण डाँगीले बताए ।

विगतमा छिञ्चु–जाजरकोट सडकखण्डको ट्र्याक खोल्ने कार्य सेनाले पूरा गरेसँगै विश्व बैंकको सहयोगमा सरकारले सो सडकमा पुल निर्माण र कालोपत्र गर्ने कार्य सम्पन्न गरेको थियो । सोहीअनुसार नै जाजरकोट–डोल्पा सडकको पुलनिर्माण र कालोपत्र गर्ने काममा आवश्यक बजेट व्यवस्थापनमा ध्यान पु¥याइनुपर्ने माग गरिएको छ ।

तत्कालीन सशस्त्र द्वन्द्वका समयमा सल्ली बजारमा प्रथम पटक निर्माण आधार खडा गरेर अगाडि बढ्दै सेना छिञ्चु–जाजरकोट र सल्ली बजार–चौरजहारी सडकको निर्माण पूरा गर्न सफल भएको थियो ।