बिदेशिएका युवाका दर्दनाक कथा, अरबपति बन्ने सपनाले बनायो घर गोठालो

केही बर्ष बिदेशमा गएर दुख गर्ने अनि सुखमय जीवन बिताउने धेरैदिन, थुप्रै पटक सपना देखियो । घरपरिवारमा पनि सधैं आफूले देखेका सपनाहरु बाँड्न थालियो । आफ्नो सपना सुनेर परिवारमा पनि सबैलाई खुसीले छाउने गथ्र्यो । अरब जानलाई गाउँघरमा पनि सबैलाई सल्लाह सुझाब पनि मागियो । गाउँघरमा सबैको आर्शीबादले काठमाडौं आए ।

काठमाडौं आउँदा सुनेको र देखेको सपनामा निकै फरक भयो । हुन पनि स्वभाबिक हो । कल्पना गर्नु र वास्तबिक भोग्नुमा । काठमाडौं धेरै पटक आए, म्यानपावर कम्पनीलाई भेटे, त्यसैमा महिनौं बित्यो । म्यानपावर कम्पनीले भोली भोली भन्दैमा निकै महिना रोक्यो । अन्तिममा त म्यान पावर ब्यवसायी नै कता हरायो कता । बिदेश जान लाग्ने रकम ऋण निकालेर दलालीको पोल्टामा दिएछु । केहीबेरमै तनाब सहितको पश्चाताप सुरु भयो । सपनालाई बिपनामै वास्तबिक काम गर्ने अठोटले फेरि पुनः अर्को म्यान पावर कम्पनीमा साउदी अरेबियामा जानका लागि आबेदन गरियो । म्यान पावर कम्पनीले पनि धेरै लफडा गरेर अन्तिममा आशा देखायो, अन्तर्वार्ता गरायो ।

अन्तर्वार्तामा मलाई अयोग्य ठानियो । मलाई कमजोर देखाएर भोलीको त्रास देखाइयो । साउदीमा गएर धेरै दुख पाउने, त्यो भन्दा नजानै बेश भन्ने संकेत देखेपछि मन खिन्न भयो । एकछिन पछि जाँगर आयो । आफ्ना पीडा बेदनाहरु सुनाउन थाले । अघिल्लो पटक दलालीले दिएको पीडा सुनाए । त्यसपछि त्यो म्यान पावर ब्यवसायीको मप्रतिको भाब पलाए जसरी ‘हुन्छ जा तर धेरै गाह्रो काम भने नगर्नु, गर्मी हुन्छ, सोचेर काम गरेस’ भन्यो । फेरी मुहारमा प्रकाश छायो र बाहिर निस्के र बेला बखत बस्ने गरेको आफन्तको कोठामा गए ।

नभन्दै २२ दिनमा भिसा लागेको भनेर कुरा ग¥र्यो । अब आफूलाई पनि केही जाँगर चल्यो । अब फलाईटको पखाईमा थिए । भिसा त लाग्यो तर भिसा लागेर मात्रै नउडाउने रहेछ । १३ जनाको भिसा लागेको थियो तर २२ दिनसम्म ५ जना मात्र जम्मा भयौं । हामीलाई त्यो म्यानपावरले हामीलाई सबै पैसा कोठामा बोलाएर माग्यो । मनमनै त लागेथ्यो कैल्य यो पनि दलाल त होइन भनेर । तरपनि भिसा लागेको भएपछि पैसा नदिन मनले पनि मानेन । भिसा स्वरुप सबै पैसा त्यसलाई नै दियौं । पैसा भन्दा पनि साउदी अरब उड्नु ठूलो कुरा लागेको थियो । करिब एक महिना २२ दिन पछि मात्र हाम्रो फलाइट उड्ने भन्ने आयो । अब त्यो दिनको पर्खामा बस्यौँ । केही दिन पछि त्यो दिन पनि आयो । जुन दिन हामी एअरपोर्ट जादै थियौं त्यो दिन नै हाम्रा लागि संसार जितेको जस्तो अनुभब भएको जस्तो लाग्दै थियो । किनकी पहिलो पटक बिदेशिदै थियौं ।

केही समय पछि अन्तर्राष्ट्रिय बिमानस्थलमा पुग्यौं । पाँचै जनालाई म्यान पावरवालाले प्लेनमा चढायो । प्लेन भरी हामी पाँच जना मात्र थियौं । एक आपसमा चिनजान ग¥यौं । आ आफ्ना योजनाहरु बुझ्यौं । कसैका पैसा कमाएर सहरमा घर बनाउने त कसैका गाउँमै कृषि ब्यवसाय गर्ने त कसैका ब्यापार गर्ने यस्ता यस्तै योजना बनाएर सबै जना निस्केका रहेछन गाउँबाट । पीडा मेरै जस्ता सबैजनाका ।

काभ्रेका हरीबहादुर लामा, भोजपुरका कमल बहादुर दाहाल, ताप्लेजुङ्गका सीताराम लिम्बु, इलामका दल बहादुर तामाङ र इलामकै अर्को म । हामी सबैले सपना पनि एउटै देखेका रहेछौं मोटामोटी । कुराकानी हुँदै थाहा भयो । हामीलाई त्यो प्लेन नै हो भन्दै देखाएर म्यान पावरवाला एअरपोर्टबाट निस्किसकेको थियो । हामीहरुमा डर त्रास भन्ने पनि केही भएको थिएन । किनकी हामी एक समूह मै थियौं पाँच जना । अप्ठेरो पर्दा एकले अर्कोलाई सहयोग गर्ने कुरा पनि भैसकेका थिए चिनजानको बखत मै । हाम्रो फलाइट गल्फ एयर थियो । हामी प्लेनमा बसेको केही मिनेटपछि उड्यो । प्लेन उड्यो, हामी पनि सगरमाथाको शिखरमा झण्डा फर्फराउनेको जसरी नै कल्पनामा उड्दै थियौं । किनकी हाम्रो लागि नयाँ थियो प्लेनमा चढ्नु र यात्रा गर्नु । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंबाट उडेको केही घण्टामै अबुधाबी हुँदै साउदी अरेबियाको रियाद भन्ने बिमानस्थलमा पु¥यायो । हामीले काम गर्ने भनेको कम्पनीबाट हामीलाई लिन दुईजना साथीहरु आएका थिए । हामी बिमानस्थलबाट बाहिरिदै थियौं । गेटमै पुगेका दुईजनाले हामीलाई सोध्यो, ‘हामीहरुको नाम बताउँदै तपाँईहरु हो भनेर ।’ हामीले जबाफ दियौं । ‘हामी नै हौं भनेर ।’ त्यसपछि झनै सजिलो भएको अनुभब भयो । साउदीमा पनि हाम्रै नेपाली रहेछन भनेर । एक जना पहाडका र अर्को एक जना मधेशका दाजुभाइ थिए हामीलाई लिन आएका । पहाडीया साथी हाम्रै नजिकै छिमेकी जिल्लाका दीपक ढुङेल थिए । उनले आफ्नो कोठामा लगेर पाहुनाको जसरी सेवा सत्कार गरे । बेलुका पनि हामी रमाइला गफगाफ गर्दै सुतियो ।

बिहान उज्यालो भयो अनि बिस्तारै हामी सबै जना कम्पनीको कार्यालय तिर गयौं । कार्यालयमा हामी पाँच जनाकै राहदानी लाग्यो । हामी कार्यालयकै छेउछाउमा बसिरहेका थियौं । दिउँसो दीपक जीले अफिसमा खानको लागि कुरा गरे हामीहरुका लागि । पैसा दियो, खाना खायौं । फेरि राती हामी जम्मा ७ जनालाई लिएर गाडी हुइकियो अँध्यारो राती । त्यसपछि थाहा हुन थाल्यो हामी दलालीबाट निकै ठगिएका रहेछौं भनेर । जुन कम्पनीका लागि काम गर्न भनी म्यान पावरले पठायो, त्यो कम्पनीमा हाम्रो नाम ठेगाना नै थिएन । एकले अर्कोलाई पशु किनबेचको जसरी हामी त्यो ठाउँबाट पनि बेचिएका रहेछौं । मध्यरातमा गाडीले त्यो ठाउँमा पु¥यायो । बिहान हेर्दा त आफ्नै नेपालको कुनै ग्रामीण भेग जस्तै । हामी कसरी र कुन माध्यमबाट आइपुग्यौ आफैंलाई पनि थाहा भएन । एउटा गाउँमा आइपुगेका रहेछौं । त्यसै ठाउँमा डिउटी सुरु भयो फलाम ओसार पसार गर्नेमा । बिजुलीको टावरका लागि साना बिद्युत आयोजना निर्माण जस्तै ।

त्यो बिजुली टावरमा एक महिना जति काम ग¥यौं त्यसपछि बालुवा र ढुंगा मात्रै भएको ठाउँमा काम खोज्दै गयौं । सबैलाई एकै ठाउँमा काम भेटिएन । म अरु साथीहरु भन्दा अलि टाढा काम गर्न थाले केरेला गु्रपमा ।

काम गर्दै गए, काम गर्दा खासै असहज त थिएन तर एक्कासी डेढ महिना ९४५० दिन नबित्दै हातको औंला च्यापियो । बिदेशको बिरानो ठाउँ के भयो भन्ने मान्छे पाउनै गाह्रो । भर्खर भर्खर घुलमिल हुन लागेको ठाउँ त्यसैमा डेढ महिना मै काम गर्ने हातको औंला नै मेसिनले च्याप्दाको पीडा । पीडामा मलम लगाउने ब्यवस्था कम्पनीको थिएन । कम्पनीलाई हामी जस्ताको पीडा सुन्ने फुर्सद नै हुन्नथ्यो । औंला च्यापेपछि रगत थामी नसक्नु भयो ।

बिदेशको पीडा भोग्दै थिए । एकजना म जस्तै पीडा बोकेर अरब पुगेको भारतीय नागरिक पनि मसंगै काम गथ्र्यो । त्यसले मप्रति दया देखाएर मेरो पीडामा असह्य भएर गाडीको ‘गेयार ओएल’ लगाइदियो । त्यसले पनि निकै राहत दियो । झलझल याद आइरहन्थ्यो आफ्नो जन्मस्थान । आफ्ना सहयोगी आफन्तहरु । पीडामा पीडितको जसरी मलम लगाउने, बेसाहारालाई साहाराको अनुभूति दिने जस्ता थुप्रै चरितार्थ बोकेका चिनजानहरुको याद आउन थाल्यो । बिदेशमा त्यस्तो अवस्थाका पाउँनु भनेको दुई प्रतिशत भन्दा माथी मुस्किल नै हुदो रहेछ । हातको औंला काटेर छट्पटाउदा आफ्नो जस्तै पीडा परेको भारतीयलाई बिझाएछ र त्यसले रगत थाम्नुका साथै आफ्ना गाडीका लगेर हस्पिटलमा लग्यो ।

भारतीयसंग जान त गए तर मलाई हिन्दी बोल्न आउदैनथ्यो । बोलेको कुरा अलि अलि बुझ्थे तर आफूलाई प्रतिउत्तर दिन गाह्रो थियो । तैपनी बिदेशमा यस्तो भगवान भेट्नु मेरो लागि सौभाग्यको कुरा थियो । एक अनजानलाई साहारा दिने मान्छे मलाई । उसले भन्दै थियो, ‘यो बिदेशको ठाउँ, यहाँ आफन्त पनि नचिने झैं गर्छन ।’ मैले मन थाम्न सकिन आँसु झारिसकेछु । उसले आफ्नो घरपरिवारको पीडा पनि सुनाउँदै थियो, मेरो मन भक्कानिएर भाब बिव्हल हुँदै थियो । किनकी उसका पीडाहरु पनि मेरै जस्ता मिल्दाजुल्दा रहेछन । कुराकानी गर्दै हस्पिटलमा पुग्यौं । हस्पिटलमा मेरो औंलाको औषधी उपचार ग¥यो । घरमा खाने औषधीहरु पनि दियो र बिस्तारै घाउ ठिक हुन लाग्यो ।

बिदेशको ठाउँ आफूलाई अन्याय परेमा उजुरी दिने ठाउँ कतै भेटिदैन । उजुरी दिन खोजेपनि कसैले वास्ता नै गर्दैनन् । आफ्नोे देशको जस्तो भए त पीडित भएपछि प्रहरी प्रशासनले सुनुवाई गथ्र्यो तर साउदीमा त अरु बिदेशीहरुलाई पशु सरह नै ब्यवहार गरिने रहेछ । ‘खाए खा नखाए घिच’ भनेजस्तो सिस्टम आफू माथि परेको थियो । साउदी जस्तो मुलकमा प्राय अन्याय अत्याचार भ्रष्टाचार कम गर्थे किनकी त्यहाँको शासन तुरुन्तै फाँसी थियो । आफूहरु पनि धेरै सचेत भएर काम गर्ने गथ्र्यौ । बिदेशीलाई अनेक बाहानामा पनि षड्यन्त्र बनाएर फसाइन्थ्यो ।

त्यो कम्पनीमा का गरेको करिब चार महिनामा दुई पटक बिना कसुर प्रहरीको फन्दामा परे । कठोर भएर बोल्नलाई भाषा नै आउदैनथ्यो त बोल्न सक्ने हिम्मत नै । बोली हालेमा साथ दिने कोही हुँदैनथ्यो । प्रहरीको फन्दामा परेपनि भाग्यले साथ दिएको भन्नुपर्छ । कम्पनीमा काम गर्ने साथीहरुले यो निर्दोश छ भन्दै छुटाइदिए । ती साथीहरुलाई धन्यबाद भन्ने शब्द नै ठूलो थियो । त्यति बेला गरेका उहाँहरुको काम जीवनकै अबिस्मरणीय बन्यो ।

कम्पनी एकदम ठूलो दलालीले सञ्चालन गरेको रहेछ । एउटा कम्पनीमा धेरै समय काम गर्न दिँदैन तुरुन्तै अर्को ठाउँमा सारिहाल्थ्यो कि त अर्कै कम्पनीलाई मजदुर भनेर बेचिदिन्थ्यो । अर्को कम्पनी जाँदा झनै कठिन काम गर्नुपथ्र्यो । तीन चार कम्पनी फेरबदल गराएर अन्तिमको कम्पनीमा करिब दुई बर्ष जति नै बसिएछ । सुरु सुरुमा त दिनभर काम गरेर बेलुका खानलाई पनि नपुग्ने थियो । त्यसपछि भने अलि साउदी आउँदाको ऋण तीर्न सकिन्छ की जस्तो लाग्यो । महिनाको पाँच सय दिन्थ्यो त्यो कम्पनीले ।

काम गर्दै जाँदा तीन बर्ष बितेको पत्तै भएन । किनकी दुखैदुखमा सुख बटुल्दै थिए । म्याद सकिएपछि त्यो मुलुकमा बस्नु आफैं असुरक्षित हुनु थियो । नेपाल आउने तयारी गरे । कम्पनीले भने बिदा दिएको थिएन । यो दलाल कम्पनीले बिदा नदिएपनि जान्छु भन्ने सोचेर भागेर नेपाल आए । तीन बर्षको कमाई जाँदा लागेको भिसा खर्चको ऋण तिर्नमै बराबर भयो । त्यसपछि बिदेश जाने सपना नै गुम्यो । सुख दुख गरेर नेपालमै काम गर्ने सोच गरियो । आफन्तहरुले पनि बेलाबेलामा कुरा काट्न थाले । सबै युवाहरु बिदेशमा काम गरेर ठूलो प्रगति गरिरहेका छन तँ मात्र घरमै भन्नेहरुको पनि कमी थिएन । वास्तबिक बिदेशको पीडा कस्तो हुन्छ त त्यो मैले राम्ररी बुझेको थिए । भोगेको थिए ।

यसरी नै आफन्तहरुको दबाब र सल्लाहमा साउदी मै अर्को कम्पनीमा काम गर्ने राम्रो कमाइ हुन्छ भन्ने चारैतिर हल्ला सुनिदै गयो । त्यसपछि दोश्रो पटक त कमाउनु पर्यो भन्ने सोचेर मैले पनि बिश्वासका साथ बिदेश जाने निधो गरेर काठमाडौं आए । काठमाडौं आउँदा एउटा म्यान पावर ब्यबसायीसंग कुरा गरे । उसले आफूले धेरै जना पठाएको बतायो । मलाई पनि लाग्यो धेरै जना पठाएको भए राम्रै रहेछ भनेर ।

त्योसंग सम्पर्कमा नै रहँदा केही समयमा नै मेरो भिसा पनि लाग्यो । अनि केही दिनमै फलाइट सुरु भयो र काठमाडौंबाट उडे । साउदी अरेबियाको कम्पनीमा काम गर्ने भनेर आएको मान्छे सिधै कतारमा पुगेछु । अर्को ठूलो महान दलालको फन्दामा परेछु । अब फेरि कतार मेरा लागि कता हो कता । कतार मेरा लागि नौलो कुरा थियो । त्यसपछि जे जस्तो भएपनि कि त बाँचिन्छ कि त मरिन्छ भनेर एउटा कम्पनीमा गएर काम गर्न थाले । कम्पनीमा काम गर्दा करिब ३० महिनासम्म कुनै ठूलो असहजता भएन । राम्ररी काम गरेरै बित्यो । त्यसपछि कम्पनी नै सार्ने भनेपछि अब के गर्ने घर जाने की यतै थप कागजात बनाएर यतै बस्ने भन्ने दोधारमा भए ।

त्यहाँको इस्पोन्सरले पनि अब अर्को ठाउ जानुपर्छ भन्यो । त्यसपछि तीन चार दिनमा सोचे र कम्पनीसँगै आफू पनि जाने निधो गरियो । पहिला अर्कै देश जाने भनेर राहदानी बुझाएको तर, फेरि जोर्डन जाने भन्यो । त्यतिबेला पनि सानो तनाब थिएन । यसरी जोर्डनतिर आए । अरबपती बन्ने सपना आज अरबीको घर गोठालो छु । यस्तै छ मेरो बिदेशिएको जिन्दगी ।

लेखकः मन बहादुर श्रेष्ठ