ताप्लेजुङ जिल्लाको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रहरुको एक झलक

सुदूर उत्तर–पूर्वी नेपालको एक सीमान्त जिल्ला ताप्लेजुङमा तीनवटा गोला (अनाज आदिका ब्यापारीको क्रयविक्रय हुने थलो) नेपाली बृहत् शब्दकोश, उत्तर दक्षिणको ब्यापार मण्डी हुने भन्सारसमेत भएकोले ब्यापारिक बस्तीलाई गोला भनिएको हो । तिब्बती भाषा तथा संस्कृतिविद डा. रमेश ढुङ्गेल “गोला” शब्द तिब्बतीकै “गो” अर्थात महत्पूर्ण ढोका (ब्यापारिक आदान प्रदानको अर्थमा) र “ला” को अर्थ चाहि पर्वतीय घाटी अर्थात ब्यापारको ढोका भन्ने अर्थ लाग्ने बताउँछन (वालुङ र वालुङा, राजेश्वर थापा)हरु छन र यी तीनवटै गोलाहरु यस जिल्लाको उत्तरी सिमानामा अवस्थित छन । यहाँका यी तीनवटा गोलाहरुमध्ये (ओलाङ(वालुङ)चुङगोला, घुन्सागोलाबाहेक) नेपालका ५९ आदिवासी जनजातिहरुमध्ये एउटा सीमान्तकृत जनजाति ढोक्प्या(तोक्पेगोला) वनाउने गोला तोक्पे पनि हो । घुन्सागोला सिक्किमसंगको सिमानामा पर्दछ भने ओलाङ(वालुङ)चुङगोला र तोक्पेगोला तिब्बतसंगको सिमानामा पर्दछन । ओलाङचुङगोला ताप्लेजुङ जिल्लाको सुदूर पूर्व उत्तरमा र तोक्पेगोला सुदूर उत्तर पश्चिममा पर्दछन ।

पाथीभरा मन्दिर

यस ठाउँको नाम तोक्पेगोला चाहिँ कसरी रहन गएको हो भन्ने सम्बन्धमा आधारभूत र तथ्यपरक कुनै प्रमाणहरु पाइएका छैनन् । यहाँका पाका पुराना मानिसहरु भन्छन् कि ताक्पेगोला व्यवसायको आधारमा राखिएको नाम हो । यस कुरालाई पुष्टि गर्नका निम्ति उनीहरु, खासगरी एक ६६ वर्षीय वृद्ध पेम्वा वाङ्जे लुरा एउटा ऐतिहासिक घटना उधृत गर्दै बताउँछन्, “आजभन्दा करिब १४६ वर्ष पहिले अर्थात् वि.सं. १९११/१२ तिर श्री ३ महाराज जङ्गबहादुर राणाको प्रधानमन्त्रीत्व कालमा भएको नेपाल तिब्बत बीचको युद्धमा तिब्बतमाथि आक्रमण गर्ने सिलसिलामा नेपालले ६ वटालियन सेना नेपालको आफ्नो पूर्वी सीमाना वालुङ तथा तोक्पेगोला तर्फबाट पनि पठाएको थियो । व्रिगेडियर जनरल खड्गशम्शेर राणाको नेतृत्वमा गएको नेपाली सेनाहरु त्यस ठाउँमा पुग्दा नपुग्दै नेपाल–तिब्बतको बीचमा एक सम्झौता सम्पन्न भै युद्ध विराम भएको कारण त्यसतर्फ गएको नेपाली सेनाले कुनै लडाईँ गर्नु परेन ।

भनिन्छ कि यिनीहरुले त्यसबेला लडाईँको सिलसिलामा आवश्यक युद्ध तथा खाद्य सामग्रीहरु ढुवानी गर्नका निम्ति सोलुखुम्वुदेखि पूर्वका सम्पूर्ण याक र चौरीहरु जम्मा पारेका थिए । त्यसैले उनीहरुले तिब्बतसँगको युद्धविराम भएको तर त्यसबेला तिब्बतसँग पटक पटक सम्झौता हुने र तोडेर युद्ध भइरहने भएकोले भविष्यमा कुनै पनि बेला युद्ध हुने सम्ंभावना भएको कुरालाई ध्यानमा राखेर सेनाले जम्मा गरेका ती याक, चौरी र घोडाहरुलाइ त्यही कतै उपयुक्त चरन क्षेत्रहरुमा गोठालाहरुको जिम्मा राख्ने सोच बनाए । त्यस भेका याक, चौरी र घोडाको चरनका निम्ति उपयुक्त घासे क्षेत्र तोक्पेगोला क्षेत्र भएकोले नेपाली सेनाले ती वस्तुभाउहरु तोक्पेगोला क्षेत्रमा पठाए र तिनीहरुलाई रेखेदेख गर्नका निम्ति केही सोलुखम्वुबाट चौरी लिएर गएका गोठालाहरुकै जिम्मामा राखी तोक्पेगोलामा गोठ राखे र त्यस क्षेत्रको चरन र जमिनको करसमेत एक लालमोहर मार्फत मिनाहा गरी दिए ।

यसरी त्यो ठाउँ, जहाँ याक, चौरी र घोडाका गोठहरु राखिएका थिए अर्थात् जहाँ गोठालाहरु बस्दथे, लाई उनीहरुको भाषामा गोठाला (थोक्प्या) र इ = बस्ने ठाउँ (थोक्पाई = गोठाला बस्ने ठाउँ) बाट थोक्प्याई हुँदै पछि त्यस ठाउँमा वाणिज्य, तथा स्थानीय कर संग्रह गर्न नेपाल सरकारको तर्फबाट अन्य जात थरका कर्मचारीहरु पुग्न थालेपछि त्यही थोक्प्या, ढोक्पे अपभ्रंस भएर तोक्पे हुन पुगेको हो । पहिले त्यहाँ स–साना गोठ जस्ता छाप्राहरु मात्र हुँदा हुन् तर पछि स्थायी रुपमा बस्ने गरेका कारण त्यहाँ स्थायी किसिमका घर बने र यो ठाउँ तिब्बतसँगको व्यापारका निम्ति र व्यापारिक केन्द्र नै बनेको हुनाले यसलाइ गोला (बजार) भनियो । यसरी यो ठाउँको नाम तोक्पेगोला रहन गएको हो भनिन्छ ।

तत्कालीन श्री ५ को सरकार तथा भारतीय नक्सा विभागबाट प्रकाशित भएका नाप, नक्सा र अन्य कतिपय सरकारी कागजहरुमा यस ठाउँलाई ‘तोप्के’ लेखिएको छ जुन लेखाई भाषागत हिसाबले गलत भएको कुराबाट माथिको तथ्यबाट स्पष्ट हुन्छ । यसरी यस ठाउँको नाम व्यवसायिक नाम गोठाला (थोक्प्या) बाट ढोक्प्पा हुँदै तोक्पे भयो र त्यही ठाउँको नाम बनेको तोक्पे अहिले आएर नवीन जातिको नाम बन्यो तोक्पेगोला (तोक्पेली) स्थानीय भाषामा ढोक्प्या ।

ओलाङचुङगोला

तोक्पेगोला तोक्पेली जातिलाई जन जातित्व दिने र शेर्पा भनि आएका यस जातिका मानिसलाई तोक्पेगोला (ढोक्प्या) जनजाति बनाउने एक ऐतिहासिक तथा प्राचीन सीमान्त बजारबस्ती हो तोक्पेगोला । यो बस्ती पापुङ गाविस अन्तर्गत वडा नं. …. मा लुम्बासुम्बा हिमालको काखमा अवस्थित छ । यो ठाउँ ताप्लेजुङ जिल्ला सदरमुकामबाट २६ कोश (३ दिन पैदल मार्ग) मा पापुङ गाविसबाट ८ कोश (साढे एक दिन पैदल) टाढा पर्दछ । यस ठाउँबाट पूर्वमा रहेको ओलाङचुङगोला पुग्न १ दिन, पश्चिमतिर रहेको संखुवासभाको थुदाम, जुन ठाउँ भएर तिब्बत जान सकिन्छ, पुग्न १ दिन, पावाखोला हुँदै तुम्लिङटार विमानस्थ पुग्न २ दिन र तिब्बतको रिउ बजार पुग्न ३ दिन लाग्छ । यस ठाउँका मानिसहरु काठमाडौँ, धरान या दार्जीलिङ तर्फ आवतजावत गर्दा यस ठाउँको दक्षिण पश्चिमतिर रहेका साजुडाँडा हुँदै जलजला डाँडा पार गरेर गुफा पोखरी–वसन्तपुर भएर गर्ने गर्दछन् । यो मार्ग भएर यात्रा गर्दा पूर्वतर्फको कञ्चनजंघा, कुम्भकर्ण हिमाल र पश्चिमतर्फको मकालु हिमालको रमणीय दृश्यावलोकन गर्न पाइन्छ भने यस बाटोको आसपासमा प्रशस्त ताल तलाउहरु छन् । यस बाटोभरि लटरम्म लालीगुराँस फुलेको पाइन्छ । तोक्पेगोला तोक्पेलीहरुका २०/२५ घरहरु भएको एउटा सानो बजार बस्ती हो । यस बस्तीमा मानिसहरु वर्षमा केवल ३÷४ महिना मात्र बस्ने हुनाले यो एक अस्थायी बसोबास अर्थात् वर्ष बस्ती हो । यस बस्तीमा खासगरी तिब्बततर्फ व्यापार गर्नेहरु र याक चौरी गोठ भएका गोठालाहरु आफ्ना वस्तुहरु लिएर बस्ने गर्दछन् । यस बजारमा २०/२५ वटा मात्र घरहरु भए तापनि ती घरहरु अत्यन्तै बाक्लो भएकोले यस्तो लाग्दछ कि यो एउटा सुन्दर नगर हो । यदि कोही कसैले यो ठाउँ केही परबाट पहिलोपल्ट देख्न पायो भने उसलाई यो ठाउँ यस्तो लाग्दछ कि यो ठाउँ कुनै एक उत्सव स्थल हो किनभने यस बस्तीमा जताततै लटरम्म पवित्र मन्त्रयुक्त ध्वजापताका (धार्चो)हरु छन् ।

तोक्पेगोला गाऊँ “याङसीरी” भन्ने अग्लो पहराको काखमा अवस्थित छ । उत्तरतिर अग्ला अग्ला पहराहरु छन । उत्तरतिर ति अग्ला अग्ला पहराहरु “ठि” भन्ने अग्लो पहराको काखमा अवस्थित छन र ति पहराहरु ठिङ्ग उभिएको मानिस झैँ देखिन्छन भने यसको दक्षिणतिर, खुल्ला हरिया जंगलको रमाइलो फाँट टाढासम्म फिजिएर रहेको छ, आँखा उत्तर र दक्षिणतिर घुमाउँदा धेरै मनमोहकता पाउन सकिने यो ठाउँ प्रकृतिको सुन्दर रचनाहरुमध्ये एउटा हो भन्दा अत्युक्ति हुदैन । गाउँको वरिपरि खुला चौरमा फुलेका रङ्गीचङ्गी फुलहरुले यसको सुन्दरता अझ बढाइदिएको छ । गाउँदेखि पूर्वपट्टिको अग्लो भिरबाट झर्ने “भेम्भेमा” छाँगाले यहाँका सवै गाउँलेले सुन्ने गरी प्राकृतिक झंकार एकोहोरो रुपमा अनवरत आइरहेको हुन्छ । पहिले यो तोक्पेगोला बजार हालको यो बजारभन्दा माथि उत्तर–पश्चिम दिशामा १ घण्टाको बाटोमा जोङलुङ भन्ने ठाउँमा थियो । त्यस ठाउँमा यो बस्ती तिब्बत नेपालको युद्धमा गएका नेपाली सेनाहरुले बसाएका थिए र त्यस बस्तीमा एउटा गुम्बा पनि थियो ।

तोक्पेगोला गाउँको अर्को विशेष महत्व भनेको यो ठाउँले महिनै पिच्छे रङ्ग फेर्नु र छिनछिनमा मौसम बदल्नु पनि हो । कहिले पहेंलो फूलले यो ठाउँ सबै पहेंलो देखिन्छ भने कहिले रातो फूलले त कहिले नीलो, हरियो फूलले । अनि कहिले सबै फूल सुकेर मरुभूमि जस्तो हुन्छ भने कहिले हरियो घाँसे मैदानमा परिणत हुन्छ । त्यस्तै मौसम पनि बिहानदेखि बेलुकीसम्ममा नै कहिले बादल लागी झ्याप्पै गाउँ नै छोपिएको हुन्छ भने कहिले छ्याङ्गै उघ्रेर सफा निर्मल आकाश देखिन्छ जसले गर्दा मानिसहरु रोमान्टिक, रोमान्चित हुन्छन । तोक्पेगोला गाउँ सानो छ तर घरहरु नजिक नजिकमा रही झुरुप्पै परेको हुनाले सानोतिनो बजारजस्तै देखिन्छ । यहाँका घरमाथि राखिएका रङ्गचङ्गी ध्वजापताकाहरुले गाउँ झिलीमिली पारिएको समारोह स्थलजस्तो देखिन्छ । यो गाउँको वरिपरि रहेको धार्मिक मठ मन्दिरहरु र यहाँका पुराना ऐतिहासिक अवशेषहरुले यस ठाँउको पौराणिक तथा ऐतिहासिक महत्व झल्काउँछ ।

सोदुपोखरी

एक अग्लो कालो चट्टान (याङ सि(री) को काखमा रहेको यो बस्तीभन्दा तल्लो भागमा एउटा अनन्त र अन्त्यहीन हरियो जंगल र यस बस्तीको शीरमा रहेका ती काला चट्टान र भीरहरु अनौठा र अद्भूत जनावर तथा मानवका आकृतिहरुझैँ देखिन्छन् । यस बस्तीको वरिपरि फुलेका र झुलेका रङ्गीबिरङ्गी फूलहरुले यस बजारलाई अझ सुन्दर मनाकर्षक बनाएको छ । यस ठाउँबाट बिहान याक र चौरी फुकाएर चरनमा पठाउँदा र गोधुली साँझको बेला ती वस्तुहरु घर फर्केर आउँदा तिनीहरुका गलामा झुण्डिएको घण्टीको अविरल सुरिलो आवाजले हरकोही नवआगन्तुकको मन प्रफुल्ल नबनाई छाड्दैन ।

यस क्षेत्रको ऐतिहासिक महत्व

वर्तमान नेपालको पूर्व उत्तरमा सीमान्त बजार वस्तीको रुपमा रहेको तोक्पेगोला र यस आसपासका ठाउँहरु ऐतिहासिक, सामाजिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वको ठाउँ हो । हाल ताप्लेजुङ जिल्ला प्रशासन अन्तर्गतका ५० गाउँ विकास समितिहरुमध्येको एउटा गाविस पापुङको एउटा वार्डको रुपमा रहेको तोक्पेगोला र स्वयम् पापुङ गाविससहित यो मेवाखोला क्षेत्र श्री ५ वडामाराजाधिराज पृथ्वीनारायण शाहको नेपाल अधिराज्यको एकीकरण अभियानअन्तर्गत वि.सं. १८३१ मा नेपाल अधिराज्यमा एकिकृत हुनुअघि लिम्बूवान राज्यअन्तर्गत पर्दथ्यो ।

प्रसिद्ध इतिहासकार शिवकुमार श्रेष्ठका अनुसार तत्कालीन लिम्बूवानका १० लिम्बूहरुको आगमनभन्दा अगाडि अहिलेका धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाहरुलाई “फेदाप” भनिन्थ्यो र यस राज्यमा ८ जना श्यान–मकवान, किराँती राजाहरुले शासन गर्दथे । त्यसबेला सम्भवत यो तोक्पेगोला क्षेत्र पनि यही “फेदाप” राज्यअन्तर्गत पर्दो हो र यी ८ जना श्यान–मकवानी किराँती राजाहरुमध्ये कुनै एउटाको शासनाधिकार क्षेत्रमा हुँदो हो ।

त्यसपछि सातौँ शताब्दीतिर वर्माको “नामभाव”बाट बसाइँ सर्दै सर्दै आसाम भएर नेपालको पूर्वी भागमा रहेका ८ जना किराँतीहरुको राज्यमा आइ पुगेका १० लिम्बू सरदारहरुले त्यहाँका ती ८ जना श्यान–मकवानी किराँती राजाहरुलाई एउटा ठूलो संयुक्त आक्रमणमा हराई त्यस क्षेत्रमा आफ्नो शासनसत्ता स्थापना गरे र पहिलेका ती ८ किराँती राजाहरुको राज्यलाई १० भाग गरी ति १० जना लिम्बू सरदारहरुले राज्य गर्न थाले । त्यसबेला यो तोक्पेगोला क्षेत्रसहितको मेवाखोला इलाकामा, सिसियेङ सेरेङहाङको शासनसत्ता कायम रह्यो र उनले मेरिङदेन गढी बनाएका थिए ।

प्रसिद्ध इतिहासकार इमानसिंह चेम्जोङका अनुसार पछि तेह्रौँ शताब्दीतिर हालको ताप्लेजुङ जिल्लाअन्तर्गतका तत्कालिन लिम्बूवान राज्यको उत्तरी भाग तमोर, याङवरक, उत्तरी पाँचथर, इलाम, फाकफोक र दार्जीलिङ समावेश भएको सम्पूर्ण भाग सिक्किमका राजा फुन्छो नामग्याल (१६४६–१६७० ख्रीष्टाव्दी) को अधिनस्थ भएको र दक्षिण लिम्बुवानमा समाविष्ट फेदाप, आठराई, मेवा, मैवा, छथर, दक्षिण पाँचथर वा बोधे प्रगन्ना, चौवीस, दश मझिया, पाँच मझिया, पाँच खपवान्त, सेवा, संखुवा, बाह्र आमचोक, खोटाङ, मोरङ, सप्तरी, महोत्तरी, रौतहट, विजयपुर र मकवानपुर सेन मकवानवंशी किराँतहरुको अधिकारअन्तर्गत रह्यो भन्ने भनाईबाट यो स्पष्ट हुन्छ कि त्यसबेला तोक्पेगोलासहितको यो मेवाखोला क्षेत्र सेन मकवानवंशी किराँतीहरुको राज्यअन्तर्गत पर्दथ्यो ।

तोक्पेगोला

पछि वि.सं. १८३१ मा अभीमानसिंह बस्नेतको नेतृत्वमा वर्तमान पूर्वी नेपालको माझकिराँत र पल्लोकिराँतमाथि चढाई गरी ती प्रदेशहरु नेपाल अधिराज्यमा एकिकृत पार्न गएको गोर्खाली सेनाले यो लिम्बू किराँती राज्यलाई विना कुनै लडाईँ शान्तिपूर्ण ढंगले आफ्नो हातमा लिएर एक लालमोहरमार्फत उनीहलाई सम्पूर्ण ठेक्का थिती र चलन प्रचलनहरु यथावत कायम राखी त्यस क्षेत्रलाई नेपाल राज्यमा मिलाए ।

त्यसैगरी यस तोक्पेगोला रहेको पापुङ गाविसको सिम्बुकमा सिक्किमका राजा तेनसोङ नामग्यालका छोरा युवराज छयाकदोर नामग्याल पुगेको र त्यहाँ उनको दरबार रहेको कुरा यहाँका स्थानीय बुढापाकाहरु बताउँछन् । पापुङ गाविसको वडा नं. ३/४ अन्तर्गतको सिम्वुकभन्दा करिब ३ घण्टाको दूरीमा माथि पहाडमा एउटा भत्केको पुरानो दरबारको भग्नावशेष केही वर्ष अघिसम्म थियो र त्यहाँ ढुङ्गाको जातो, ओखलि आदि थिए । त्यस भवनलाई त्यहाँका स्थानीय मानिसहरु आफ्नो भाषामा “डेनजोङ ग्यावु” (खोडे राजाको दरबार अर्थात् सिक्किमका राजाको दरबार) भन्दछन् । सिक्किमका राजा तेनसोङ नामग्यालका तिनवटी रानीहरु (जेठी भुटानकी राजकुमारी, माईली तिब्बतकी राजकुमारी र कान्छी अरुण कोशी जिल्लाको किराँत लिम्बू राजा यङया हाङकी छोरी थुङवा मुक्मा) थिए ।

राजा तेनसोङकी जेठी रानीको तर्फबाट एउटी छोरीमात्र थिइन, माइली रानीको तर्फबाट एउटा छोरा छयोकदोर नामग्याल र कान्छी रानीबाट एउटा छोरो गुरु नामग्याल र एउटी छोरी पन्देत्छेरिङ ग्यालमो भए । तेनसुङ नामग्यालको देहान्तपछि १७०० ख्रिष्टाव्दमा बालकैमा राजा भएका छयोकदोर नामग्यालको समयमा भुटानले सिक्किममाथि आक्रमण ग¥यो । त्यसबेला त्यहाँका बालक राजा भएको, सेनामा लडाईँको तैयारी नभएको र बालक राजाकी जेठी आमा समेत भुटानसँग मिलेका कारण युद्धमा पराजित भएका बालक राजालाई उनको आफ्नो सुरक्षाका लागि आफ्नो मामाघर तिब्बतमा पु¥याउने सिलसिलामा इलामहुँदै पापुङ सिम्बुक–ओलाङचुङगोला पु¥याएका थिए र यस सिलसिलामा उनी त्यस ठाउँमा केही समय रहेको कुरा उक्त भग्नावशेषबाट स्पष्ट हुन्छ । तर केही वर्ष यता उक्त भग्नावशेष भएको ठाउँमा वारी बनाएर खेती गरिएकोले सो भग्नावशेष देखिँदैन ।

यसरी यो तोक्पेगोला क्षेत्र पहिले लिम्बूहरुको अधिनमा रहेको स्पष्ट हुन्छ । अझ तोक्पेगोलामा त हालको बजार–वस्तीभन्दा केही माथि पुराना घरको भग्नावशेषहरु छन् र ती भग्नावशेषहरु त्यस ठाउँमा रहेका ठाउँ, पानीमूल, आदिको लिम्बू भाषाका नाम जस्तै मेन्दा तरुङ (वाख्राको पुल) मिक्वा खोला (आँसुको खोला) आदिबाट लिम्बूहरुका हुन भन्ने अनुमान गर्न सकिन्छ । ती घरहरु त्यहाँको भिरालो पाखोमा, चट्टानमा रहेका गुफाहरुसँगै टसाएर बनाएका हुनाले यस्तो लाग्छ की ती घरहरु निकै प्राचीन कालका हुन् । त्यस ठाउँलाई त्यहाँ वाकाङ ङिङवा भनिन्छ ।

यस आसपासका अन्य ऐतिहासिक ठाँउहरु

वागाङ ङिङवा

तोक्पेगोला गाउँभन्दा १ कि.मि. जति उत्तरतिर रहेको पुरानो गाउँको अवशेष रहेको ठाउँको नाम हो वागाङ ङिङवा । यो अवशेष काशी गोत्रका लिम्बूहरु तिब्बतबाट नेपाल आउँदा बस्ती बसेको लिम्बू बस्तीको अवशेष हो भनिन्छ ।

जोङजुङ

तोक्पेगोला गाउँबाट २/२ कि.मि.माथि पश्चिमतिर यो जोङलुङ गाउँको अवशेष पाइन्छ । जंगबहादुर राणाको समयमा नेपाल तिब्बत युद्ध हुँदा खेरी नेपाल सरकारले सीमा सुरक्षार्थ यहाँ बस्ती बसाएको थियो । स्थानीय मानिसहरुले गुम्बा बनाएको थियो । मन्दिरहरु बनाएका थिए । तर पछाडि आगलागीबाट त्यो जोङजुङ गाउँ नष्ट भयो । त्यसकारण त्यो बस्ती जोङजुङबाट तोक्पेगोलामा सारिएको थियो । यही पुरानो अवशेष जोङलुङ गाउँ भन्ने ठाउँमा अवशेष पाइन्छ ।

तिम्बुङ पोखरी

नदी खोलाहरु

यस क्षेत्रलाई मेवाखोला क्षेत्र बनाउने मेवाखोलाको उत्पत्ति यही तोक्पेगोलाको शिरमा रहेको याङला पास हिमालबाट भएको छ । लिम्बू भाषामा मिक्वा वहङ (आँसुको खोला)बाट मेवाखोला भएको यो सानो नदीमा तलतिर सोदुपोखरीबाट उत्पन्न भएको सोखुखोला, फेदिखोला, पापुङखोला, सिवाखोला र उम्भेक हिमालबाट उत्पन्न भएर आएर सिम्बुकमा मेवाखोलासँग मिल्दछन ।

मिक्वा वहङ

ताप्लेजुङ एक हिमाली गाउँ पापुङको तोप्केगोलामा उहिले लिम्बूहरू पनि बस्थे । तोप्केगोलाको शिरमा एउटा भूतपोखरी छ । भूत पोखरीले साह्रै दुःख दिएकाले लिम्बूहरूले तोक्पेगोलाको शिरमा बाख्रापालन गरी बस्न लागे । तर त्यस ठाउँमा सोदो पोखरीबाट निकास भएको पानी खोला भएर गाउँमा आउँने भएकोले बाख्रा चरणमा वाधा पु¥याउँथ्यो । तिनीहरूले खोलामा बाख्रा तार्न मेंदातरङ् बनाए । लिम्बू भाषामा मेन्दा भनेको बाख्रा र तरङ भनेको साँघु हो । लिम्बूहरू त्यहाँबाट पनि आफ्ना सामलतुमल र केटाकेटीहरूका साथ ताङ्खू भन्ने गाउँमा बसाइँ सर्न लागे । तर हिँड्न नसक्ने दुईजना बूढाबूढी भने त्यही गाउँमा छाडिईए । छरछिमेकी र छोराछोरीहरू सबै ताँत लागेर गाउँ छोडी बसाँइ सरेको देख्दा बूढाबूढी आफुहरूमात्र बेसहारा भई बस्नु पर्दा चिन्ताले शोकबिह्वल भए । बूढाबूढी धुरु–धुरु रुन थाले । ती दुईको धुरु–धुरु रुवाइबाट आँसुका थोपा तप–तप झरेर जम्मा भई एउटा खोला उत्पन्न भयो । त्यो खोलालाई मिक्वा वहङ (आँसुको खोला) भनियो र त्यहीँ खोलाको नाम पछि अपभ्रंश भई मेवाखोला रहन गयो । मिक्वा वहङ (मेवा खोला) विछोडको वेदनामा ती दुई बेसाहारा लिम्बूलिम्बुनी बूढाबूढीले बगाएको आँसुको मिथक बनेर अविरल आज पनि बगिरहेछ । युगौँ युगसम्म यसरी नै बगिरहनेछ ।

जंगल तथा घाँसे मैदानहरु

यस क्षेत्रमा सबभन्दा ठूलो जंगल पापुङभन्दा माथि तोक्पेगोला जाने बाटोमा पर्दछ र यो जंगल निकै ठूलो छ । यहाँ स्थायी रुपमा हिउँ नजम्ने लेकाली भागहरुमा लेकाली फूलहरु पाइन्छ । यस्ता फूलहरुमा प्रिमुला, मेकोनाप्सीस, पद्मचाल, सुर्यफुल, सर्मागरु आदि छन् । यसका अतिरिक्त झार बुटेनहरुमा सुनपाते, भैरुङपाते, धुपीसल्ला आदि प्रशस्त पाइन्छ । यहाँ भोजपत्रको वन पनि ठूलै छ । ३,००० मिटरको उचाइमा गोब्रेसल्ला र पहाड परेको भागमा लालीगुराँस, अंगेरी, खस्तु, चाप आदि जातका बोटबिरुवाहरु पाइन्छ ।

पशुपंक्षीहरु

यहाँ लेकाली जंगलहरुमा झारल, कस्तुरी, थार, नावर, भालु, हिमब्बाँसो, चितुवा, वनबिरालो, लोखर्के, मलसाप्रो, बनेल, दुम्सी, स्याल, बाँदर, ढेंडु आदि र पंक्षीहरुमा हिमाली भेकतिर चिलाम, हिम मलेवा, कंगमो, मोनाल, डाँफे पाइन्छ भने पहाडी मैदानतिर लुइँचे, कालिज, कोइली, पिउरा, चित्रा आदि पाइन्छ ।

पर्यटकीय स्थलहरु

संसारमा सुन्दर स्थान कि त तल्लोतह समुद्री किनारमा हुन्छ कि त उच्च हिमालको काखमा । तोक्पेगोला क्षेत्र पनि हिमाली क्षेत्र भएको हुनाले यो ठाउँ आफैमा अति सुन्दर ठाउँ हो । डाँडाकाँडा, हिमाल पहरा, नदी नाला, छहरा, छाँगा, वन जंगल, फूल, जडीबुटी, जस्तै धेरै प्राकृतिक सम्पदा र सुन्दरताले भरिपूर्ण, सजिसजाउ भएको हुनाले यो क्षेत्रमा विविध किसिमका पर्यटकीय स्थलहरु छन् । यहाँको प्राकृतिक सुन्दरता, जातीय तथा सांस्कृतिक मौलिकता, वन्यजन्तु तथा पैदावरको विविधता पर्यटकको लागि आकर्षकको मुख्य श्रोतहरु हुन् ।

जलजला–तोक्पेगोला क्षेत्र

जलजलादेखि तोक्पेगोलासम्मको क्षेत्रलाई एउटा मुख्य पर्यटकीय क्षेत्रको रुपमा लिन सकिन्छ । जलजलादेखि तोक्पेगोलासम्म पर्ने सबै क्षेत्र लामो पर्वतीय श्रृंखलाको क्षेत्र हो । यो पर्वतीय श्रृंखलाको दायाँतिर कञ्चनजंघा हिमश्रृंखला र बायाँतिर मकालु हिमश्रृंखला पर्दछ, त्यसकारण बसन्तपुर गुफा पोखरी जलजला हिमालहुँदै तोक्पेगोलासम्म जाने जो सुकै पदयात्रीले पनि यी दुईवटा हिमश्रृंखला (कञ्चनजंघा र मकालु) को दृश्य अवलोकन गर्दै यात्रा गर्न सक्नेछन् । लालीगुराँसदेखि लिएर विभिन्न हिमाली फूलहरुले यो मार्गको सबै बाटोलाई सजाएर राखेको छ । यहाँका डरलाग्दा भिर र निला काला तालहरुले पर्यटकहरुलाई उत्साहित बनाउँछ भने कहिले शान्त पहाडी खोंचहरुले शुन्यताको अन्तिम विन्दुमा पुगेको अनुभव गराउँछ । सुनपाती, धुपी, सुनाखरी, बुकी लगायत अन्य बास्नादार जडीबुटी तथा बुट्यानहरुले सुनमा सुगन्ध थपेको भान गराउँदछ ।

तोक्पेगोला–दोभानसम्म

उच्च हिमाली क्षेत्रदेखि सिधै तल औलसम्म आइ पुग्ने यो बाटोमा हिँड्ने पर्यटकहरु कहिल्यै दिक्क हुदैनन । हिमाली वन पैदावार बुटानदेखि लिएर पहाडी ठूलठूला वन जंगल छिचोल्दै हिँड्नु पर्ने यो मार्गमा थोरै समयावधिम विविध वनस्पतिको अवलोकन गर्न पाउने छन् । साथमा ठूलाठूला खोला नाला, छहरा छाँगाको रमाइलो झंकारमा रमाउन पाउने छन् । चराचुरुङ्गी र वन्यजन्तुको विभिन्न आवाजहरुमा मुग्ध हुन सक्नेछन् । त्यसकारण थोरै समयमा धेरै फरक किसिमको संसारमा डुलेको अनुभव गर्न सकिने यो जंगली क्षेत्र पनि यहाँको मुख्य पर्यटकीय स्थल हो । यो यात्रा अवधिभरमा तोक्पेगोला जाति र साथमा लिम्बू जातिको संस्कृतिको पनि अध्ययन गर्न सक्ने छन् ।

तोक्पेगोला–तीनपोखरी

लुम्बासुम्बा हिमालको काखैकाख हुँदै यासा हिमाल पार गरेर ओलाङचुङ पुग्न सकिने यो क्षेत्रको विशेष महत्व छ । तालै ताल, मैदानै मैदान हुँदै जान सकिने यो मार्गको यात्रा अवधिभरमा दक्षिणतिरका हरियालीले भरिपूर्ण फाँटहरुको दृश्य अवलोकन गर्न सकिने यो क्षेत्र पनि कम रमाइलो र कम सुन्दर छैन ।

फुङफुङे छाँगा

फुङफुङे छाँगा

तोक्पेगोला क्षेत्रकै साँवा गाविस वडा नंं. १ मा पर्ने फुङफुङे छाँया ताप्लेजुङ जिल्लाकै अग्लो र सुन्दर छाँगा हो । अन्दाजी करिब ३०० मिटरको उचाइबाट झर्ने यो छाँगाको फेदमा फुङफुङ्ग देवीको मन्दिर पनि भएको कारण यसको धार्मिक महत्व पनि छ ।

थोन्थक्पा फुक्कु

ताप्लेजुङको साँवा गाविस वार्ड नं.२ मा ठूलो ढुङ्गाको ओडार छ । यसलाई थोन्थक्पा ओडार भन्दछ । उहिलेउहिले मरेको मान्छेको लासलाई गाड्ने वा पोल्ने चलन थिएन । लासलाई बरू यही ओडारमा ल्याएर राख्ने चलन थियो रे । त्यस ओडारभित्र अहिले पनि मरेका मान्छेहरूका हाडखोर देखिन्छन् । तर कसको हाडखोर हो, कसले राखेको हो, कसैले भन्न सक्दैन । नेपाल एकीकरणअघिको कुरो हो । मेवाखोलामा साम्याङ, सिङयाहाङ, हिनाहाङ र पेरिहाङ व्यक्तिहरूमाझ ठूलो युद्ध भयो । युद्धमा धेरै मानिसहरू मारिए । युद्ध लड्दै जाँदा खाद्यान्न र पानीको ठूलो सङ्कट आई प¥यो । धेरै दिनसम्म कुनै योद्धाले पनि अन्नपानी खान पाएनन् । कतिले बाँसको तामाहरू खाए र बाँचे, तामा नखानेहरू भोकले मरे रे । तीमध्ये एक योद्धा तङदप्पा साँवा त्यही ओडारमा लुकेर बसेको थियो रे भनी त्यहाँका बूढापाकाहरू भन्छन् । थोन्थक्पा ओडारमा भेटिने हाडखोरउही तङदप्पा साँवाको भन्छन ।

येत्चेल्लाङ पहरा

थोनथक्पा ओडारदेखि केही पर येत्चेल्लाङ भन्ने ढुङ्गाको ठूलो पहरा छ । यस पहराको बीचभागदेखि आठवटा ठूला–ठूला ढुङ्गाका पाटाहरू छुट्टिएका छन् । लिम्बू भाषामा आठलाई येत र धारलाई चेल्लाङ भनिन्छ । यी धारहरूलाई पहिले मानिसहरूले खुकुरीले काटेका हुन् भन्ने किंवदन्ती छ । पहरा जमिनदेखि ६० मिटर उचाइमा छ । पहरामा ३ वटा बाँसका भाटाहरू टाँसिएका छन् । तीमध्ये एउटा भाटा २ फिट र अरू दुईवटा भाटा १.६ अर्थात् डेढ फिट लामा छन् । ती बाँसका भाटाहरू उहिले मानिसहरूले युद्धमा प्रयोग गरेका धनु काँड हुन् भन्ने गाउँका बूढापाकाहरूको भनाइ छ । तर कसले कहिले राखेको कसैले भन्न सकेका छैनन् । भाटाहरू साँच्चिकै आश्चर्यचकित पाराले पहरामा टाँसिएका छन् । न कुनै किला ठोकिएको छ न कुनै अङ्कुसे या रुख, पात, लहराले अडाएको छ । साँवा गाउँका ठिटाहरू भन्छन् – पहिले त्यो पहराको छेउमा एउटा सानो सिमलको रुख थियो । त्यहाँ चढेर उनीहरू केटाकेटी छँदा ढुङ्गाले हानेर ती भाटाहरू झार्नलाई खुब कोसिस गर्थे । तर ढुङ्गाले लागेर पनि झरेनन् रे । ती भाटाहरूलाई अहिलेसम्म न त वर्षाको पानीले झार्न सकेको छ न त हुरी बतासले उडाउन सकेको छ । साँवा गाउँ २ को येत्चेल्लाङ पहरा ऐतिहासिक र पवित्र स्थल हो । फेदाङमाहरूले मुन्धुम वाचन गर्दा पनि यो येत्चेल्लाङ (आठवटा धारिला ढुङ्गाहरू) को नाम लिन्छन् ।

पोखरीहरु

उच्च हिमाली क्षेत्र भएको कारण, यस क्षेत्रको भू–वनावटमा पनि प्रशस्त भिन्नता भएको पाइन्छ । ठूला ठूला अग्ला पहराहरु अनि कुनै कुनै ठाउँमा चाहिँ फराकिला घाँसे मैदानहरु अनि कुनै कुनै ठाउँमा चाहिँ जंगलै जंगलहरु छन् । यिनै विविधताको बीच बीचमा ठूला ठूला पोखरीहरु पनि यस क्षेत्रमा अनगिन्ती छन् । स्वच्छ सफा पानीले बनेको निलो गहिरो पोखरीहरुले यस पर्यटकीय क्षेत्रको सौन्दर्यतालाई अझ बढी चाखलाग्दो बनाएको छ । कुनै पहराको खोंचमा, कुनै मैदानको बीचमा रहेका यी पोखरीहरुले विविध रमणीय दृश्यहरुको प्रतिबिम्बलाई प्रस्तुत गरेका छन् । यस क्षेत्रको पोखरीहरुले प्राकृतिक सुन्दरतालाई बढाएको त छ नै यसको अलावा यहाँका धार्मिक महत्व बोक्ने ठूल ठूला पोखरीहरुले यस क्षेत्रको संस्कृतिलाई पनि जोगाएर राख्ने काम गरेको छ ।
सोदु पोखरी

तोक्पेगोला गाउँदेखि अलि माथि पश्चिमतिर करिब ३० मिनेट जति हिँडेपछि यो सोदु पोखरीमा पुग्न सकिन्छ । यो पोखरीको प्राकृतिक सुन्दरताको साथै धार्मिक महत्व पनि छ । पश्चिम र उत्तरतिर ठूलाठूला डाँडाहरु रहेको ठूलो घाँसे मैदानको बीचमा यो पोखरी रहेको छ । दक्षिण भागमा गोब्रे सल्लाको हरियो जंगल र पोखरीभन्दा माथि मैदानमा विभिन्न प्रकारका सुन्दर दृश्यहरु स्वच्छ र निर्मल पोखरीमा प्रतिबिम्वित हुँदा पोखरी त एउटा कलाकारले पर्दामा लेखिराखेको चित्रजस्तै देखिन्छ । पोखरीको बीचमा जमिनको एउटा थुम्को छ, जहाँ एउटा मन्दिर पनि छ । जुन मन्दिर स्थानीय जनताको कुलदेवता (छोदे ग्याबु) को रुपमा मान्दछन् । तोक्पेगोलामा गरिने ठुक्पा छेसी जात्रा यही मन्दिरमा मनाइन्छ । पवित्र धार्मिक महत्व अनि सुन्दर भएको कारण यो पोखरीको महत्व अति धेरै छ, स्थानीय भाषामा यो पोखरीलाई (छ्यौदे) भन्दछन् ।

भुतपोखरी

भुतपोखरी

तोक्पेगोला गाउँदेखि दक्षिण पश्चिमतिर जंगलको बीचमा सानो तर कालो डरलाग्दो पोखरी छ । गाउँबाट १५ मिनेट जति हिँडेपछि यो पोखरी भएको ठाउँमा पुगिन्छ । वरिपरि बाक्लो हिलो र बीचमा कालो पोखरी रहेकोले यो पोखरी अति डरलाग्दो देखिन्छ । हिलोमा भासिने हुनाले यसको वरिपरि पनि जान सकिँदैन । किम्वदन्तीअनुसार यसको वरिपरि साँझ बिहान मानिस गयो भने त्यो पोखरीको ठूलो छाल उठेर आएर मानिसलाई पोखरीभित्र तानेर लान्छ भनिन्छ । त्यहीकारण यसलाई भूतपोखरी भनिएको हुनुपर्छ ।

थाङला पोखरी

तोक्पेगोलाबाट थुदाम हुँदै तिब्बत जानेबाटोमा पर्ने थाङला भन्ज्याङको टुप्पामा रहेको हुनाले यो पोखरीको नाम थाङला पोखरी भनिएको हो । वरिपरि पहरा नै पहराको बीचमा रहेको हुनाले यो पोखरी अति शान्त निलो देखिन्छ । यो पोखरी तोक्पेगोलादेखि उत्तरतिर पर्दछ ।

तीन पोखरी

तोक्पेगोलादेखि पूर्वतिर करिब २ घण्टा जति हिँडेपछि तीन पोखरी भन्ने ठाउँमा पुगिन्छ । त्यो ठाउँको नामै तीन पोखरी हो । हुन त यो ठाउँमा करिब १०÷११ वटा ठूला साना पोखरीहरु छन् तर पनि एकै ठाउँमा ३ वटा ठूला ठूला पोखरीसँगै रहेकोले ती तीनवटा पोखरीको नामबाट त्यो ठाउँको नाम तीन पोखरी भनिएको हो । सबैभन्दा माथिल्लो पोखरीलाई जेठो पोखरी, अनि तल्लोलाई माइलो पोखरी र सबैभन्दा तल्लो पोखरीलाई कान्छो पोखरी भन्दछन् । यहाँ रहेका पोखरीहरुको वरिपरि विभिन्न रङ्गीविरङ्गी फूलहरु र विभिन्न वास्नायुक्त सुगन्धित र एकान्तको रमाइलो संगमस्थलको रुपमा यो ठाउँलाई लिन सकिन्छ । यो ठाउँ तोक्पेगोलाबाट ओलाङचुङ जाने बाटोमा पर्दछ ।

साजु पोखरी

तोक्पेगोलादेखि पश्चिम–दक्षिणतिर पर्ने साजु डाँडा खोंचमा यो पोखरी अवस्थित छ र पदयात्रीहरु हिँड्ने बाटो पोखरीसँगै जोडिएको छ । कालो निलो लम्बाकार पोखरीसँग नजिकबाट हिँड्नु पर्ने बाटो भएकाले यहाँ हिँड्ने जो कोही पदयात्रीहरु पनि उत्साहित हुने गर्दछन् । बसन्तपुर–गुफापोखरी–जलजला हिमाल हुँदै तोक्पेगोला जाने बाटोमा यो पोखरी पर्दछ । यस मार्गमा अरुहरु पनि थुप्रै पोखरीहरु छन् । “शिवा झरी, लुम्बासाम्बा, बन्दुके, लुङजुङ, राते जोरपोखरी, सवापोखरी आदि यस मार्गमा पर्ने पोखरीहरु हुन् । यीबाहेक पनि यस क्षेत्रमा दायाँ, बायाँ, तल माथि अन्य थुप्रै पोखरीहरु छन् तर ती सबै यस मार्गको नजिकमा छैनन् ।

पाथीभरा पोखरी

तोक्पेगोला क्षेत्रकै पापुङ गाविसको सिरान डाँडामा एउटा मन्दिर छ जसलाई स्थानीय जनताहरु पाथीभरा मन्दिरको रुपमा मान्दछन् । पाथीभरा मन्दिरमा पुग्न नसक्ने भक्तहरु यही मन्दिरमा आई पाथीभराको पूजा गर्दछन् । यही मन्दिरको काखमा एउटा पोखरी छ, त्यही पोखरीलाई पाथीभरा पोखरी भन्दछन् । वरिपरि पहाडी जंगलै जंगलको बीचमा यो पोखरी ठूलो आकारको नभएपनि जनविश्वासअनुसार यसको धार्मिक महत्व निकै ठूलो छ । पर्यटन मार्गबाहेक अन्यत्र ठाउँहरुमा पनि धेरै राम्रा पोखरीहरु छन् । तर ती पोखरीहरुमा पुग्नलाई विशेष समय नै तय गर्नु पर्दछ । तर यहाँ उल्लेख भएका पोखरीहरु सबै पथ मार्गमा पर्दछन् ।

तोक्पे संस्कृति

तोक्पे संस्कृति

यस किसिमका प्राकृतिक, जैविक तथा आध्यात्मिक विविधताका अतिरिक्त यस तौकपेगोला क्षेत्रमा पाइने अर्को एउटा महत्वपूर्ण पक्ष हो तोक्पे सस्कृति । यस ठाँउमा वसोवास गर्ने तोक्पेगोला र लिम्बू जातिका मानिसहरुको रहनसहन, भेषभुषा, नाचगान, खानपान र रीतिरिवाजका अनुपम प्रस्तुतीहरुले यस क्षेत्रमा पुग्ने हरकोहीलाई मन्त्रमुग्घ वनाउछ ।  राजेश्वर थापाको आलेख