आरक्षण बचाउ आन्दोलनका १९ जना भद्रकालीबाट पक्राउ

काठमाडौं– लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्ति गर्नका लागि प्रकाशन गरेको विज्ञापनमा आरक्षणको कोटा कटौती गरि अन्याय गरेको र सो विज्ञापन रद्ध गर्नुपर्ने माग राख्दै आएका १९ जनालाई आज भद्रकालीबाट पक्राउ गरिएको छ ।

विभिन्न आदिवासी जनजाती संघ–संगठनका पदाधिकारीहरु र अन्य स्वतः स्फूर्त रुपमा आरक्षण बचाउ आन्दोलनका सहभागी भएका सर्वसाधारणहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

आज (आइतबार) सिंहदरबार घेराउको कार्यक्रम राखेर भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धन कामीसहित १९ जना पक्राउ परेका हुन् । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएपछि प्रर्दशनकारीहरुले चर्का नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामासमेत माग गरेका थिए ।

पक्राउ परेका रिहा गर्न भन्दै नारा जुलुस गर्ने थप पाँच जनलाई प्रहरीले प्रदर्शनी मार्गबाट पक्राउ गरेको छ । पक्राउ परेको १९ जनालाई नेपाल पुलिस क्लवमा राखिएको छ ।

उनीहरुले सो विज्ञापन खारेज नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन् ।