रवी लामिछानेसहित तीन जनाविरुद्ध सम्झनाले दिइन किटानी जाहेरी

काठमाडौँ– पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आज प्रहरीमा किटानी जाहेरी परेको छ ।

उनकी श्रीमती सम्झनाले पक्राउ परेकाविरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाडौँमार्फत चितवन प्रहरीमा किटानी जाहेरी दिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

उनकाअनुसार आज परेको पूरक जाहेरी जिल्ला प्रहरी कार्यालय चितवन पठाइसकिएको छ । चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले प्रहरी हिरासतमा रहेका तीनै जनाको नाममा जाहेरी परेको जानकारी दिए । यसअघि घटनाको अनुसन्धानका लागि भनेर परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।

पुडासैनीको यही साउन २० गते चितवनको नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । घटना हुनुअघि उनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखलढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पु¥याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको श्रव्यदृश्य सामग्रीे फेला परेको थियो ।

पुडासैनीले मर्नुअघि मोबाइलमा रेकर्ड गरेको उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि उनीहरुलार्ई बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो । शुक्रबार आत्महत्या दुरुत्साहन अन्तर्गतको मुद्दामा चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।

मुलुकी अपराधसंहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने उल्लेख छ ।