माथिल्लो कर्णाली र बुढीगण्डकी जलविद्युत् परियोजनाको सम्झौता राष्ट्रको अहितमा रहेको भन्दै सरकारको आलोचना

काठमाडौं– पुष्पलाल मित्रता केन्द्रले सोमबार राजधानीमा गरेको एक बहस कार्यक्रममा विभिन्न वत्ताहरुले माथिल्लो कर्णाली र बुढीगण्डकी जलविद्युत् परियोजनाको सम्झौता राष्ट्रको हितविपरीत रहेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

माथिल्लो कर्णाली र बुढी गण्डकी परियोजनामा राष्ट्रहितको संरक्षण सम्बन्धी बहस कार्यक्रममा बोल्दै नेताहरुले टाट पल्टिएको भारतीय कम्पनी ‘जिएमआर’सँग परियोजनाको निर्माण सम्झौता नेपालको हितविपरीत भएको बताएका हुन् ।

कार्यक्रममा जलस्रोत विज्ञहरु, आयोजना स्थलका स्थानीय व्यक्तिहरु, नेकपाका नेताहरु एवं जलस्रोतसँग सम्बन्ध राख्ने विभिन्न व्यक्तिहरु ती आयोजनाहरुको सम्झौताले राष्ट्रको हितमा हुने कुनै पनि काम नगरेको कुरामा एकमत थियो ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रको अहित हुनेगरी कुनै सम्झौता भएको भए त्यस्ता सम्झौता कुनै पनि मूल्यमा मान्य नहुने बताए । हरेक राजनीतिक पार्टीहरुको एउटा एजेण्डाको रुपमा रहेको जलस्रोतको विषयमा व्यापक छलफलको आवश्यकता औँल्याउँदै आयोजक संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै खनालले भने, ‘कुनै पनि सम्झौता कार्यान्वयन गर्नुअघि हुने छलफलमा के कुरा उपयुक्त हो र के कुरा अनुपयुक्त हो सो विषयमा तथ्यपरक र सन्तुलित ढंगले विचार विमर्श गरेर मात्र निर्णयमा पुग्नुपर्छ ।’ खनालले राष्ट्रियतालाई कमजोर पार्ने कुनै पनि योजना समर्थन गर्न नसकिने भन्दै माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका बारेमा उठेका सम्पूर्ण प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताए ।

बहस एवं छलफल कार्यक्रममा कडा रुपमा प्रस्तुत भएका नेकपा नेता भीम रावलले पटक पटक ‘जीएमआर’ भन्ने कम्पनीको सम्झौतालाई म्याद थपेर नेपाली जनता र नेपालको राष्ट्रियताको सवालमा सरकारले गम्भीर खेलबाड गरेको आरोप लगाएका छन् । नेता रावलले जिएमआरले नेपाललाई जुनसुकै जरिवाना गराउन सक्ने गरी राज्य तल परेर निर्माण सम्झौता गरिएको दाबी गर्दै आफूले पटक–पटक गरी विभिन्न सरकारका व्यक्तिहरुमार्फत राष्ट्रहितविपरीतका २१ बुँदाहरुमध्ये १६ वटा बुँदाहरु सच्याएकोसमेत खुलासा गरे । माथिल्लो कर्णाली आयोजनाको सवालमा रावल भन्छन्, ‘३० वर्षसम्म उपभोग गर्ने र हाम्रो जल हामीलाई नै वेचेर ३० वर्षपछि थोत्रो उपकरणहरु हामीलाई छोडिदिने सर्तमा अर्काको देशको हितमा हुनेगरी यो देशका नेताहरुले सम्झौता गरेको देख्दा हृदय छिया–छिया भएको छ ।’

कार्यक्रममा देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले जिएमआरलाई म्याद थप गरियो भने त्यसविरुद्ध नेपाली जनता आन्दोलनमा उत्रने चेतावनी दिए । राष्ट्रिय स्वाधिनतामाथि खेलवाड गर्ने काम नगर्न सरकारलाई उनले सचेत गराए । वर्तमान सरकारले कम्युनिस्ट शब्दलाई नै बदनाम गर्ने काम गरेको उनले आरोप लगाए ।

कार्यक्रममा जलस्रोत विज्ञ हरी पण्डित, सन्तबहादुर पुन र रतन भण्डारीले ती योजनाहरुसँग सम्बन्धित रहेर त्यस योजनाले कस्तो खालको राष्ट्रहितविपरीत काम गर्छ भन्ने विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

ऋषि कट्टेल र द्वारीकानाथ ढुंगेलको टीप्पणीले कार्यक्रमको माहोल निकै तातिएको थियो । कट्टेलले चुनावताका अहिलेका मुख्य तीन ठूला पार्टीलाई ‘जीएमआर’ले करोडौँ रकम चन्दा दिएर सहयोग गरेको हुनाले बारम्बार यीनैको सरकार बन्छ र यीनै राजनीतिक पार्टीका व्यक्तिहरुले उनीहरुलाई गैह्र कानूनी रुपमा सम्झौताको समय लम्व्याउने गरिन्छ भन्दा हल नै केही क्षण सुनसान बनेको थियो । उनले बुढीगण्डकी आयोजनाले ४५ हजार मानिसको विजोग बनाएको भन्दै आक्रोस पोखे भने रातारात ठूलो चलखेल गर्दै ३०० मेगावटको सम्झौता पाएको कम्पनीले रातारात चलखेल गर्दै सचिवस्तरीय निर्णय गर्दै माथिल्लो कर्णालीको एक आयोजना ९०० मेगावट बनाइएको ढुंगेलले खुलासा गरे । ढुंगेलले नेपालको विजुलीमा नभएर नेपालको पानीमा भारतको आँखा परेको हुनाले त्यसै योजना सफल बनाउन भारत जीएमआर कम्पनीमार्फत अगाडी बढीरहेको र त्यसलाई तत्काल खारेज नगरे त्यो नेपालको लागि दुर्भाग्य हुने बताए ।

‘माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान’का अध्यक्ष भरत बहादुर शाहीले माथिल्लो कर्णाली परियोजना निर्माणको जिम्मा जिएमआरलाई दिनु नेपाल र नेपालीका लागि दुर्भाग्य र राष्ट्रघात भएको बताए । नेपालका राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो कर्णाली जलविद्युत् परियोजना नेपालसँगै भारत र बंगलादेशको पनि चाँसो रहँदै आएको छ । कार्यक्रम पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाको अध्यक्षतामा र महासचिव रबिन कोइरालाको सञ्चालनमा सम्पन्न भएको थियो ।