उडेको ३ मिनेटमै सीता एयरको जहाजको इन्जिन बिग्रिएर बन्द

काठमाडौं । बुधबार सीता एयरको ९-एनएजेएच (अल्फा जुनियर होटल) कलसाइन जहाज इन्जिन फेल हुँदा पनि सुरक्षित अवतरण गर्न सफल भएको छ।

लुक्लाबाट तीनजना चालकदल सहित आएको जहाज टेकअफ गरिएको तीन मिनेटमा इन्जिनमा समस्या आएको लुक्ला विमानस्थलका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए।

यो डबल इन्जिन जहाज हो। जहाज टेकअफ भएको तीन मिनेटमा एउटा इन्जिनमा समस्या आएको थियो। पाइलटले यो जहाज सकुशल काठमाडौं अवतरण गरिसकेका छन्।

उनले भने,सीता एयरको डोर्नियर लुक्लाबाट विहान ८:२१ बजे टेक अफ भएको थियो। ८:२४ मिनेटमा जहाजको एउटा इन्जिन समस्या आएको रिपोर्ट आएको थियो। चालकले विहानत ८:५० मा सावधानीपूर्वक काठमाडौं अवतरण गरिसकेका छन्।

१९ सीट क्षमता रहेको यो डिर्नियर जहाज क्याप्टेन भरत थापा र क्याप्टेन प्रदीप अधिकारीले उडान गरेका थिए।