जापानको एक सहरमा रेलसँग ट्रक जुध्दा कम्तीमा ३० जना घाइते

जापानको दोस्रो ठूलो सहर योकोहामामा आज एउटा एक्सप्रेस रेल र एउटा ट्रक आपसमा ठोक्किँदा कम्तीमा पनि ३० जना घाइते भएको रोयटर्सले रेल सञ्चालन गर्ने कम्पनी केइक्यु कर्पोरेसनलाई उद्धृत गर्दै जनाएको छ।

ट्रक–रेल ठोक्किएपछि लागेको आगो निभाएको स्थानीय वारुण यन्त्रका कर्मचारीले पनि ३० जना घाइते भएको समाचारको पुष्टि गरेका छन्।

राजधानी टोक्यो जाने रेलमार्गमा भएको दुर्घटनामा ट्र ठोक्किएपछि रेलको चालककक्षको सिसा फुटेको थियो र रेलका अघिल्ला ३ वटा डिब्बा लिकबाट उत्रिएको थियो।

‘सिसा फुटेको आवाज भयानक थियो,’ रेलका एक जना यात्रुले जापानी टेलिभिजन एनएचकेसँग भने, ‘आवाजपछि के भयो भनेर मैले थाहा पाउन्जेलसम्म डिब्बा लिकबाट पल्टिइसकेको थियो।’

राजधानी टोक्यो नजिकै भएको दुर्घटनामा ट्रकका चालक पनि सिकिस्त भएका छन्। तर रेलका चालक र यात्रुहरुलाई भने सर्सती जाँच गेर्दा गम्भीर चोटपटक नलागेको एनएचकेले उल्लेख गरेको छ।

ठक्करपछि रेल र ट्रक दुवैबाट धुवाँको कालो मुस्लो निस्केको थियो। ट्रकबाट सुन्तलाका दाना रेलका लिकमा यत्रतत्र छरिएका थिए।

यातायात मन्त्रालयसहित जापानी सरकारी निकायहरुले दुर्घटनाबारे अनुसन्धान थालेको बताएका छन्। तर उनीहरुले दुर्घटनाको तत्काल विस्तृत विवरण भने दिन सकेनन्। प्रहरीले समेत दुर्घटनाको छानबिन भइरहेको भन्दै कुनै विवरण दिएन।