दलित जनप्रतिनिधिलाई डा. बाबुरामको प्रश्नः हिन्दू धर्म किन स्वीकार्नु हुन्छ ?

काठमाडौं । ‘जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गर्छ त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’ दलित अधिकार सुनिश्चित गर्न भेला भएका दलित समुदायका जनप्रतिनिधिलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो प्रश्न गरेपछि उनीहरु मुखामुख गर्न थाले ।

समता फाउण्डेशनले बिहीबार र शुक्रबार दुई दिन काठमाडौंको पार्क भिलेज रिसोर्टमा आयोजना गरेको भेला उदघाटन समारोहमा तीन जना पूर्वप्रधानमन्त्री एकै मञ्चमा थिए । विरलै देख्न पाइने यो दृष्यलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा र बाबुराम भट्टराईले साकार पारेका थिए ।

तीन पूर्वप्रधानमन्त्रीमध्ये पहिलो वक्तामा परेका भट्टराईले शुरुमा राज्यका बिभिन्न तहमा दलितको प्रतिनिधिको तथ्यांक पेश गर्दै जातीय जनसंख्याका आधारमा त्यो हुन नसकेको बताए । उनले वर्तमान निर्वाचन प्रणाली कायम रहेसम्म दलितको प्रतिनिधित्व राज्यसत्तामा समानुपातिक नहुने पनि प्रष्ट पारे ।

त्यसपछि उनी दलित समुदायका अगुवा जनप्रतिनिधि तथा अभियन्ताहरुलाई नै प्रश्न गर्न थाले । भारतको संविधानका पिता मानिने भीम राव अम्बेडकरको भनाइ उद्धृत गर्दै उनले हिन्दू धर्मले जातप्रथा जन्माएको भन्दै जातीय बिभेदको मूल स्रोत नै हिन्दू धर्मशास्त्र रहेको बताए ।

उनले अम्बेडकरको प्रसंग स्मरण गर्दै दलितहरुलाई भने- कि त हिन्दू धर्मशास्त्र सच्याउनुपर्छ कि त तपाईंहरुले त्यो परित्याग गर्नुपर्छ । हिन्दूत्वको नाममा जातपात प्रथा कायम गर्नेमाथि अन्तर्राष्ट्रिय समुदायले किन नाकाबन्दी नलगाएको ? यो प्रश्न हिँजो पनि उठेको थियो । धर्मको विषय भएकाले यसमा ती समुदायमा सामान्य विषय उठे पनि कोही निर्णयमा पुग्दैनन् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले जातपात प्रथा मानवअधिकारको उल्लंघन भन्दै ऋग्वेदबाटै जातीय बिभाजन गरिएको बताए । दलितलाई मान्छे नै नमान्ने हिन्दू धर्म मान्ने दलितहरुमाथि समेत उनले प्रश्न उठाए ।

भट्टराईले भने- मैले बोलेँ भने डलर खाएर बोल्यो भन्छन् । यसमा तपाईंहरु बोल्नुपर्छ । पाप लाग्छ भने मलाई लागोस् तर तपाईंहरु हिन्दू धर्म किन स्वीकार गर्नुहुन्छ ? त्यसमा सुधार हुँदैन भने तपाईंहरुले किन मान्ने ? अम्बेडकर आफैं हिन्दू भएर जन्मिए, तर जातीय विभेदका कारण मर्ने बेलामा बुद्ध धर्म अँगाले ।