प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने

सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वेदश फर्किने भएका छन् ।

उनी शुक्रबार बिहान ११ बजेर ३५ मिनेटमा नेपाल आइपुग्ने सूचना तथा प्रसारण विभागले जनाएको छ । उपचारका लागि गएको ५ गते सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा ‘प्लाज्मा फेरेसिस’ गरिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका उपाध्यक्ष वामदेव गौतम र महामन्त्री विष्णु पौडेल पनि सिंगापुर पुगेका छन् ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारको लागि सिंगापुर पुगेका थिए ।