चितवनका किसानलाई गाँजा रोप्ने चटारो, यसरी गरिन्छ गाँजा खेती !

चितवन । नेपालको कानुनले गाँजालाई लागूऔषध मानेको छ । कानुनले खान बन्देज गरेका कारण यसको खेती पनि गैरकानुनी हुन्छ । तर चितवनको पहाडी क्षेत्रमा हिजोआज पाखो बारी र कान्लामा निर्धक्क गाँजा रोप्दै गरेका स्थानीयको हुल देखिन्छ । उनीहरु निर्धक्क भएर अन्य बाली झैं गाँजा रोप्दै गरेका भेटिन्छन् ।

पूर्वी चितवनको राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा पर्ने वडा नम्बर १२ र १३ मा बढी मात्रमामा गाँजा खेती हुने गरेको छ । गाँजा फाँड्न भनेर भण्डारा इलाका प्रहरी कार्यालयको टोली दुई दिन त्यो क्षेत्रमा डुल्यो । तर प्रहरी टोली फर्केपछि स्थानीयले आफ्नै सुरमा गाँजा खेती जारी राखेका छन् । हलोले जोतेर खेतबारी धुल्याएपछि ड्याङ बनाउने काम सुरु हुन्छ । ड्याङमा गाँजाका बोटहरु राखेपछि जरा पुर्ने काम गर्ने अर्को समूह हुन्छ ।

यसरी गाँजा रोप्दै गरेका समूहमा कुनै कुनै ठाउँमा ३० जना पनि भेटिए । महिलाहरु काखे नानीसहित खेतमा गएका थिए । उनीहरुले खेतमा बनेको सामान्य छाप्रोमा पछ्यौराको झोलुङ्गो बनाएर आफ्ना नानीहरुलाई त्यसमा सुताएका थिए । बीच बीचमा थकाइ मार्दा खाजा स्वरुप कचौरामा जाँड आउने गर्दथ्यो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र शाह त्यो भेगमा गाँजा खेती बढेको सूचना आएपछि साउनयता चार पटकसम्म प्रहरी टोली परिचालन भएको बताउँछन् । गाडी गुड्ने बाटोभन्दा आधा घण्टाभित्र गएपछि हरेक कान्ला र पाखामा गाँजा रोपेको देखिन्छ । राप्ती नगरपालिका–१२ का वडाध्यक्ष अर्जुन चेपाङ गाँजा खेती ठूलो समस्याको रुपमा आएको बताउँछन् ।

यो खेतीमा को संलग्न छन् भन्ने बारेमा आफूले ठोस सूचना नपाएको उनले बताए । तर पनि गाउँलेहरुको कुरा सुन्दा स्थानीयको जग्गा भाडामा लिएर बाहिरका मान्छेले खेती गरेको हुन सक्ने उनले बताए । राप्ती–१३ का वडाध्यक्ष सूर्य चेपाङ यो विषयमा बोल्न तयार भएनन् । डिएसपी शाह पनि खेतीमा बाहिरको मान्छेको लगानी भएको हुनसक्ने बताउँछन् ।

एक महिनाअघि नारायणगढमा एकजना भारतीय समातिएका थिए । डिएसपी शाहका अनुसार उनले पहाडी क्षेत्रमा गाँजा खेती गर्न मान्छेलाई पैसा लगानी गर्ने गर्थे । मकवानपुर प्रहरीको फरार सूचिमा रहेको ती भारतीय जस्ता अरु पनि हुन सक्ने अनुमान गरिएको छ । तर स्थानीय मान्छेहरु खेती लगाउनेदेखि स्याहार्ने र उस्तै परे बोक्नेसम्मका काममा लाग्ने भएका कारण उनीहरु कानुनका हिसाबले जोखिममा छन् ।