मनकामनाको केवलकार बन्द हुने

गोरखा– यही भदौ २२ गतेदेखि मनकामना केवलकार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार २६गतेसम्म मर्मत–सम्भारका लागि पाँच दिनसम्म बन्द गर्न लागिएको हो ।

मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले जानकारी दिए ।

गोरखाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिर दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्दै आएका थिए । यसको प्रवेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना– ४ चेरेसमा छ । केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो ।उक्त कम्पनीले निश्चित अवधिमा आफूले बनाएका केवलकारको अवस्था अनुगमन गर्दै आएकामा सोहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको, उसकै निगरानीमा मर्मत हुन लागेको र मर्मतपछि नियमित सञ्चालनमा आउने उनले बताए।