डेंगुको उपचारपछि घर फर्किए विशेषज्ञ डा रुइत, डेंगु नियन्त्रणमा संकलकाल घोषणाको माग

डेंगुको संक्रमण देखिए पछि अस्पताल भर्ना भएका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइत स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डेंगुको संक्रमण देखिएपछि गत शुक्रबार नर्भिक अस्पताल भर्ना भएका डा रुइत बुधबार अस्पतालबाट डिस्चार्ज भएको उनका सहयोगी केदार आचार्यले जानकारी दिए ।

अस्पतालबाट डिस्चार्ज भए पनि डा रुइत तत्काल बिरामीको उपचारमा भने संलग्न हुने छैनन् । डा रुइतको स्वास्थ्य अवस्था सामान्य भए पनि नर्भिकका चिकित्सकले १० दिन घरमै आरमा गर्न सुझाव दिएका छन् ।

उनी १० दिन घरमै आराम गरेपछि मात्रै आँखाका बिरामीको सेवामा फर्किने उनका सहयोगी आचार्यको भनाइ छ । ‘डाक्टर रुइतको स्वास्थ्य अवस्था अहिले सामान्य नै छ, घरमा आराम गरेर बस्नुभएको छ ।

हिजो अस्पतालबाट डिस्चार्ज भइसक्नु भयो,’ डा रुइतका सहयोगी आचार्यले भने, ‘तर उहाँ बिरामीको उपचार गर्न अस्पताल भने जानुहुन्छ, चिकित्सकले १० दिन आराम गर्न भनेका छन् । पूर्ण रुपमा ठिक भएपछि मात्रै जानुहुन्छ ।’

डेंगु लागेर डा रुइतसँगै अस्पताल भर्ना भएकी उनी छोरी पनि अस्पतालबाट डिस्चार्ज भएकी छन् । तर, भान्जी भने अझै अस्पतालमै छिन् ।

गत शुक्रबार ज्वरो आएपछि आफै नर्भिक अस्पतालमा स्वास्थ्यजाँचका लागि पुगेका डा रुइतलाई स्वास्थ्य परीक्षणको क्रममा डेंगु भएको पुष्टी भएको थियो । उनी ६ दिन अस्पताल भर्ना भएर बुधबार घर फर्किएका हुन् ।

डेंगु नियन्त्रणमा संकलकाल घोषणाको माग

देशभर फैलिएको डेंगु रोगले हजारौँ विरामी परिसकेका छन् । सरकारले गरेको नियन्त्रणको प्रयास पूरै असफल देखिएको छ । दिनप्रतिदिन संक्रमण फैलिन देशका विभिन्न जिल्लामा डेगुंको सक्रमण फैलिएसँगै त्रास नै फैलिएको छ ।

न फैलियोस नि कसरी रु अस्पतालमा उपचार गर्न आएका अधिकाशं विरामीमा डेगुं देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चिकित्सकलाई यति बेला भ्याइनभ्याइ छ ।

डेंगुको शंका गर्दै होस या डेगुं सक्रमितहरु जाँच गर्न आएका बिरामीको लाइन लागेको छ । काठमाण्डौमा ६ वर्ष यताकै सबैभन्दा बढी डेंगु रोगका बिरामी भेटिएका छन् ।
राजधानी बाहिर केही महिना अघिदेखि नै डेंगुको संक्रमण फैलँदा पनि सरकारले रोकथाम गर्न सकिरहेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान संञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले ३ सय ५० रुपैया मात्रै पर्ने डेंगु जाँच किटको निजी अस्पतालहरुले २ हजार ६ सय रुपैया सम्म लिने गरेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सत्तारुढ दलकै सांसद कोमल ओलीले पनि डेंगु संक्रमण नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गरेकी थिइन् । वलीले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर डेंगु संक्रमण तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा पनि सांसदहरुले डेंगु संक्रमणको प्रभावकारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद विना देवी बुढाथोकीले डेंगु नियन्त्रण चुनौतिपुर्ण बनेको र संक्रमण फैलिदै जाँदा जनता पनि आतंकित भएको भन्दै प्रभावकारी रुपमा नियन्त्रणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सुजाता परियारले डेंगुको संक्रमण बढ्दै गएको भन्दै सदनमा दैनिक कुरा उठिरहदा पनि सरकार गम्भीर नबनेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् ।

बैशाखमा धरानमा देखिएको डेंगु संक्रमणबाट राजधानी काठमाण्डौमा २ सहित ६ जनाको मृत्यु भईसकेको छ भने हजारौ संक्रमित भएका छन् । संक्रमण नियन्त्रण हुनुको साटो फैलिदै गएको छ । तर सरकारले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन ।