इन्द्रजात्रा हेर्न बसन्तुपर पुगेका पूर्वडीआईजी र नेपाली सेनाका पूर्वमेजर पक्राउ

काठमाडौं । इन्द्रजात्रा हेर्न बसन्तुपर क्षेत्र पुगेका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वडीआईजी विजयराज भट्ट, पूर्वमेजर केशव बस्नेत रहेका छन् ।

‘नारायणहरि गजुरेल र म भुगोल पार्कमा कुरा गरिरहेका अवस्थामा प्रहरीहरु आएर माथिको आदेश भन्दै पक्राउ गरेको’, पूर्वडीआईजीले बताएका छन् । उनीहरुलाई पुलिस क्लबमा राखेको छ ।

प्रहरीले सडकमा हिँड्दै गरेका, पार्कमा बसिरहेकाहरुलाई समेत पक्राउ गरेको भट्टको गुनासो छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले भने उच्छ्रृंखल गतिविधिमा संग्लन भएको भनेर केहीलाई पक्राउ गरिएको बताए ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न बसन्तपुर जाने कार्यक्रम छ ।

तर, गुठी विधेयकको विषयलाई लिएर विरोध प्रदर्शन हुने सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यही क्रममा धरपकड भएको अनुमान छ ।

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले इन्द्रजात्राको समयमा विरोध प्रदर्शन गर्ने योजना बनाइरहेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको बताए ।

उनले भने, ‘योजना बनाउँदै गर्दा सेनाका पूर्वमेजर पनि समातिएका छन् ।’

अहिले वसन्तपुरमै भएकाले पक्राउ पर्नेको यकिन संख्या पनि खुलिनसकेको उनले बताए ।