यस कारण ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गर्ने शाहीले शनिबार भएको घटनाबारे जानकारी दिने भन्दै आइतबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए ।

पत्रकार सम्मेलनमा खास पत्रकारहरुको भन्दा पनि युटुबरहरुको धेरै उपस्थिति थियो । पत्रकार सम्मेलनमा शाहीमाथि युटुबरहरुको प्रश्नको वर्षा भयो । प्रश्नको उत्तर दिन नसक्ने स्थिति भएपछि युटुबर र शाही समर्थक बीच हात हालाहालको स्थिति बनेको थियो ।

ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार शाहीलाई असुरक्षाको अवस्था देखेपछि कार्यक्रमस्थलबाटै उनलाई नियन्त्रणमा लिइएको हो । स्थिति सामान्य भएपछि उनलाई छाडिने पनि एसएसपी राईले बताए ।