झापामा भेटियो ५०० भन्दा बढी डेङ्गुका बिरामी, २ जनाको मृत्यु

३ महिना अडाडि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार यस्तै अवस्था रहे झापामा पनि सङ्कट आउन सक्छ । डेङ्गु नियन्त्रणका लागि गत वर्षसम्मका कार्यक्रम सकिए पनि यस वर्ष कुनै कार्यक्रम नआएको पौडेलको भनाइ छ ।

स्थानीय तहले डेङ्गु नियन्त्रणका लागि चासो दिनुपर्ने भएपनि जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलको भनाइ छ ।

डेङ्गुका कारण झापामा हालसम्म २ जनाको मृत्यु भइसकेको छ । यो वर्ष झापामा कसैको मृत्यु नभए पनि यसरी नै बिरामीको सङ्ख्या बढ्दै गएमा भयावह अवस्था सिर्जना हुनसक्ने पौडेलले बताए ।

झापामा डेङ्गु पहिलोपटक मेचीनगरमा फेला परेको थियो । झापाका मेचीनगर, विर्तामोड, दमक, भद्रपुर लगायतका नगर डेङ्गुको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।