गाडीमा यौन दुर्व्यवहारको अभियोग लागेका पूर्व सांसद घिसिङ धरौटीमा रिहा

काठमाडौं । सार्वजनिक यातायातमा महिलाभ (युवती)माथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्व सांसद (तत्कालीन संविधासभा सदस्य) योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको थुनछेक आदेशानुसार पूर्व सभासद घिसिङ ५ हजार घरौटीमा रिहा भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख (प्रमुख जिल्ला अधिकारी) भागिरथ पाण्डेको सोमबारको इजलाशले पूर्व सांसद घिसिङलाई ५ हजार धरौटी माग गरेको हो ।

एक युवतीले सार्वजनिक यातायातमा घिसिङले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै घिसिङविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दर्ता गरेकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा घिसिङ भदौ २३ गते पक्राउ परेका थिए । प्रहरीले घिसिङविरुद्ध अभद्र व्यवहारको कसुरअन्तर्गत मुद्दा चलाएको थियो ।

जिल्ला प्रशासन कार्यालयले थुनछेक आदेशमा ५ हजार धरौटीमा रिहा गरी तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

घिसिङ तत्कालीन एकीकृत नेकपा माओवादीबाट २०७० सालको संविधानसभामा समानुपातिक तर्फका सदस्य थिए ।