पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दाबढी घाइते

इस्लामावाद । पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ ।

भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चारमाध्यमले बुधबार बिहान जनाएको छ । पूर्वीपाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो ।

मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानका घरमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युत्का पोल ढलेको तथा टेलिफोनका टावरमा क्षति भएको बताइएको छ ।

पूर्वीपाकिस्तान र भारतसमेतमा झड्का महसुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ । एजेन्सी