प्रधानसेनापति थापाको भ्रष्टाचार गर्ने पूर्वजर्नेललाई पक्राउ गर्न निर्देशन

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र लामो समयदेखि कायम बेथिति, विकृति र भ्रष्टाचार निर्मूल गर्ने घोषणा नै गरेका छन् ।

केही समयअघि नेपाली सेनाको इतिहासमै पहिलोपटक आफ्नो सम्पत्ति सार्वजनिक गरेर प्रधानसेनापति थापाले सेनामा सुधार थाल्ने प्रयास गरेका थिए ।

प्रधानसेनापति भएपछि थापाले गरेका कतिपय निर्णयको तल्लो तहका सिपाहीले स्वागत गरेका छन् । खासगरी निवृत्तिभरणको अवधि, यूएन मिसनमा सबै तहका सैनिक अनिवार्य जाने व्यवस्था गरेका थापाले नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको निजगढ–काठमाडौं द्रूतमार्ग ९फास्ट ट्रयाक० निर्माणमा भएका भ्रष्टाचारको अध्ययन गरी कारबाही गर्ने घोषणा गरेका छन् ।

सर्वसाधारणबाट धेरै गुनासो आएपछि प्रधानसेनापति थापाले द्रूतमार्गमा अनियमितता भएका पुराना फाइल खोलेर अनुसन्धान अगाडि बढाएको सैनिक स्रोतको दाबी छ । द्रुतमार्ग आयोजनाको प्रमुख हुँदा पूर्वप्राविधिक जर्नेल योगेन्द्र खाँणले आयोजनामा अनियमितता गरेको उजुरी सेनाभित्र छानबिनको विषय बनेको छ ।

थापाले भ्रष्टाचार छानबिनको जिम्मा आफूपछिका वरीयताका बलाधिकृत रथी शरद गिरीलाई दिएका छन् । आयोजनामा रहँदा खाँणले आफन्तलाई फाइदा पुर्याएको र करोडौं अनियमितता गरेको आरोपसहित उजुरी जंगी अड्डामा परेको छ ।

द्रूतमार्गमा अग्लो पुल र सुरुङ बनाउने काममा अन्तर्राष्ट्रिय टेन्डर गर्ने प्रचलन विपरीत खाँणले तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीको आदेशअनुसार मौखिक रुपमै आफ्ना मान्छेको डोजर, लोडर लगाएर जमिन मिलाउने काममा मात्रै ५०औं करोड घोटाला गरेको आरोप लागेको छ । करोडौं खर्च हुँदासमेत काम नभएपछि खाँण छानबिनको दायरामा परेका हुन् ।

आयोजना प्रमुख रहँदा खाँणले विना योजना लाखौं वर्गफिट बाटो खन्न लगाउने, बिल बनाउने र पैसा दिने गरेको उजुरीमा उल्लेख छ । खाँणले आयोजनामा अनियमितता गरिरहँदा पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले मौन बसेर भ्रष्टाचार गर्न सघाएको आरोप लागेको छ ।

सैनिक सेवाबाट अवकाश पाएपछि ६ महिनासम्म सैनिक ऐन आकर्षित हुने भएकाले खाँणमाथि त्यहीअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने सैनिक स्रोतले जनाएको छ ।