पूर्व राष्ट्रपति डा यादवको उपचार खर्च व्यहोर्न मन्त्रिपरिषद् बैठकको यस्तो निर्णय

सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार खर्च व्यहोर्ने भएको छ । साथै उपचारसँग सम्बन्धित विल बमोजिमको रकम नयाँदिल्लीस्थित नेपाली दुतावासबाट भुक्तानी दिने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

उच्च पदमा आसिन र निवृतहरुलाई विदेशमा औषधी उपचार खर्च राज्यले व्यहोर्ने कुराको चर्को विरोध भ इरहेका बेला पूर्व राष्ट्रपति यादव फेरी त्यसरी खर्च लिने सुचीमा थपिएका छन् । नागरिक तहमा विदेशमा गरिएका उपचार खर्च राज्यले व्यहोर्ने कुराको सर्वत्र निन्दा हुँदै आएको छ । तर पनि सरकारले उक्त क्रियाकलापलाई निरन्तरता दिदैं आएको छ ।

सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार २०७६ साल असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु निम्न हुन् ।

१. नेपाल ट्रस्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।

२. मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिबाट हटाउने निर्णय गरिएको छ ।

३. एसिड आक्रमणबाट घाइते भएक जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापन गर्न जनही तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको छ ।

४. चितवन जिल्ला, भरतपुर महागरपालिका वडा नं. १६ को वडाध्यक्षको रिक्त पदपूर्तिका लागि २०७६ मंसिर १४ गते शनिबार उपनिर्वाचन हुने गरी मिति तोक्ने र र सोको जानकारी निर्वाचन आयोगलाई दिने निर्णय गरिएको छ ।

५. नेपाली नागरिकहरू नारायणप्रसाद अर्जल र महासेनानी रामजी थापालाई विदेशी मुलुकबाट पदक ग्रहण गर्न स्वीकृति दिइएको छ ।

६. प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय गरिएको छ ।

७. उपरथी प्रभुराम शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गर्ने निर्णय गरिएको छ ।

८. नेपाल प्रज्ञा प्रतिष्ठान र इजरायलको हिब्रु लेखक संघबीच वाङ्मय आदानप्रदान तथा सहकार्य गर्ने सम्बन्धी प्रस्तावित समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई स्वीकृति दिइएको छ ।

९. नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच हवाई सेवा सम्भौतामा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।

१०. शहरी पूर्वाधार विकास निगमको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ ।

११. राजकीय अतिथी गृह निर्माण गर्न तयार गरिएको गुरूयोजना स्वीकृत गरिएको छ ।

१२. पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित विलबमोजिमको रूपैया नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरिएको छ ।

१३. सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।

१४. एकल महिला सुरक्षा कोष (सञ्चालन) (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।