मावा खोलामा पुल बनेपछि खुशियाली

दमक । झापाको दमक र मोरङको मधुमल्लालाई जोड्ने मावा खोलामा पक्की पुल निर्माण भएको छ । पक्की पुल निर्माण भएपछि वर्षौंदेखि स्थानीय बासिन्दाले भोग्दै आएका हैरानी र जोखिम अन्त्य भएको छ ।

पुल महाशाखा पूर्वी सेक्टर नम्बर १ योजनामार्फत रु ३० करोड २२ लाख ९२ हजार भ्याटसहितको लगानीमा शर्मा लामा जेभीलाई २०७२ साल असार २९ गते सम्झौता गराई काम शुरु गरिएको थियो । तोकिएको समय सीमाभित्र पुल निर्माण भएपछि वर्षौंदेखिको त्यहाँको मुख्य समस्या हटेको भन्दै स्थानीय बासिन्दा खुशी भएका छन् ।

मावा खोलामा २५० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण तोकिएको समयमै सम्पन्न भएपछि त्यसको क्षेत्रमा चहलपहल बढ्न थालेको दमक वडा नम्बर ३ का वडाध्यक्ष नवीन बरालले बताए । उनले मावा खोलामा पुल निर्माण भएपछि वर्षात्मा ज्यान जोखिममा राखेर आवातजावत गर्नुपर्ने बाध्यता सधैँका लागि अन्त्य भएको बताए ।

उनकाअनुसार पुल सञ्चालनमा आएपछि झापाको व्यापारिक केन्द्र दमक र मोरङको पुरानो मधुमल्ला बजारबीचको व्यावसायिक कारोवार वृद्धि हुन थालेको छ । पुल निर्माणले वर्षात्मा दमकदेखि मधुमल्ला हुँदै मोरङ, इलाम र पाँचथर जिल्लाको चुरे र पहाडी भूभागका विभिन्न क्षेत्रमा आवतजावत गर्न सहज भएको वडाध्यक्ष बराल बताउँछन् ।