मतदान तथा मतगणना विषयक प्रशिक्षण शुरु

काठमाडौं (पास)– निर्वाचन आयोगले आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई व्यवस्थित र सहज तरिकाबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले आज मतदान तथा मतगणना विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
आयोग परिसरमा सञ्चालित क्षेत्रीय निर्वाचन अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीसहित आयोगका अधिकृतहरु सहभागी रहेको उक्त प्रशिक्षण कार्यक्रमको निर्वाचन आयुक्त नरेन्द्र दाहालले शुभारम्भ गर्दै निर्वाचन सञ्चालन गर्ने कार्य ठूलो व्यवस्थापकीय जिम्मेवारीको कार्य भएकाले आयोगसहित निर्वाचनका सबै सरोकारवाला गम्भीर भई आ–आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक रहेको बताए ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैपटक सञ्चालन हुने र मतदाताले तीन वटा मतपत्रमा चार ठाउँमा मत संकेत गरी बेग्लाबेग्लै तीन वटा मतपेटिकामा मतपत्र खसाल्नु पर्ने भएको हुँदा मतदान कार्यमा खटिने कर्मचारीलाई बढी होसियारीसाथ जिम्मेवारी पूरा गर्न उहाँले निर्देशन दिए ।
आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले परिस्थितिले हाम्रो कार्य व्यस्तता अनुमान गरेको भन्दा बढी हुन पुगेको भए तापनि व्यवस्थापनका साना मसिना विषयमा समेत पर्याप्त ध्यान पु¥याई कार्य गर्न आवश्यक रहेको बताए ।
आइएफइएस नेपालका इयान स्मिथले निर्वाचनको तयारीका लागि निर्वाचन आयोगका कर्मचारीबाट भइरहेको मेहनतको प्रशंसा गर्दै मतदान र मतगणनाजस्तो संवेदनशील विषयमा गर्न लागिएको प्रशिक्षणले निर्वाचनलाई थप स्वच्छ र व्यवस्थित बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।

आजको कार्यक्रमबाट प्रशिक्षित भएका प्रशिक्षकहरुले सात वटै प्रदेशमा कार्यरत मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन अधिकारीलगायतलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।