पूर्वमेयरको घरमा १३.५ टन सुन बरामद, प्रहरी नै अचम्मित

एक व्यक्तिले कतिसम्म सुन सञ्चित गरेर राख्लान् ? ५ किलो, १० वा २५ किलो। प्रश्न उठ्ला यत्रो सुन एक व्यक्तिसँग कहाँबाट हुन सक्छ ।

प्रश्न उठ्नु स्वाभाविकै हो । किनकि बहुमूल्य यो पहेँलो धातुको बजारभाउ आजको मितिमा तोलाकै ७० हजार रुपैयाँ छ । एक केजीमा लगभग ८९ तोलाको हाराहारीमा हुन्छ । यदि तपाइँसँग ५ किलोमात्र सुन छ भने त्यो ४४५ तोला हुन्छ र अहिलेको बजारभाउअनुसार त्यसको मूल्य ३ करोड ११ लाख ५० हजार रुपैयाँबराबर हुन्छ । यो पनि निकै ठूलो धनराशि हो ।

यस्तोमा यदि एकै व्यक्तिसँगै १३.५ टन अर्थात् साढे १३ हजार ५०० किलो सुन भेटियोभन्दा पत्याउन गाह्रो पर्छ । तर चीनको दानझौ सहरमा हालै यस्तै घटना भएको छ ।

दानझौ सहरका पूर्वमेयर ज्याङ कुईका साथबाट यत्रो परिमाणमा सुन बरामद भएको हो । चिनियाँ प्रहरीले उनको घरमा छापा मार्दा ठूलो परिमाणमा सुन बरामद गरेपछि ज्याङलाई पक्राउ गरी लगेको छ । प्रहरीले ज्याङको घरबाट बरामद सुन पनि जफत गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पूर्वमेयर ज्याङको घरको बेसमेन्टमा लुकाएर राखेको अवस्थामा १३.५ टन सुन बरामद भएको हो । बरामद सुन इँटा आकारमा हजारौँ टुक्रा थिए ।

पूर्वमेयर ज्याङको घर हजारौँ वर्गमिटरमा फैलिएको छ । त्यहाँ अवैध रुपमा सुन लुकाएर राखिएको थाहा पाएपछि प्रहरी छापा मार्न पुगेको थियो । सुरुमा त यत्रो परिमाणमा सुन देख्दा चिनियाँ प्रहरी आफैँ छक्क पनि परे ।

चीनमा भ्रष्टाचारलाई लिएर शून्य सहनशीलता तथा कडा नियम बनाइएको छ । तर पनि बेलाबेलामा ठूला भ्रष्टाचारका घटना बाहिर आइरहन्छन् ।

ठूलो परिमाणमा सुन भेटिएपछि भ्रष्टाचार मुद्दामा पूर्वमेयर ज्याङलाई फासीको सजाय हुन सक्ने आँकलन गर्न थालिएको छ । –एजेन्सी