यसरी सडकदेखि विमानस्थलसम्म चिनियाँ राष्ट्रपति सीको विदाइ

काठमडौँ । नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

शनिबार साँझ पौने ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा राष्ट्रपति सी स्वदेश फर्किँदा उनलाई ठाउँठाउँमा सर्वसाधारण तथा सरकारी कर्मचारीहरुले विदाइ गरेका थिए ।

राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन् ।

राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीलगायत उच्चपदस्थ अधिकारीहरु विमानस्थल पुगेर राष्ट्रिपति सीलाई विदाई गरेका थिए ।

विमानस्थलमा नेपाली सेनाले राष्ट्रपति सी जिनपिङलाई विदाई सलामी अपर्ण गरेको थियो ।

नेपाल भ्रमणको क्रममा राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग वान अन वान वार्ता समेत गरे ।

२३ बर्षपछि उत्तरी छिमेकी देशबाट भएको उच्चस्तरीय भेटघाटलाई महत्वपूर्ण कुटनीतिक उपलब्धीका रुपमा हेरिएको छ ।