जनकपुरस्थित बुद्ध एयरको कार्यालयमा राजपा कार्यकर्ताद्वारा तालाबन्दी

जनकपुरधामको कदम चोकस्थित बुद्ध एयरको नगर कार्यालयमा तालाबन्दी गरिएको छ। राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले बुद्ध एयरको नगर कार्यालयमा तालाबन्दी गरेका हुन्। मंगलबार बुद्ध एयरको काउन्टर तोडफोड गरेको भन्दै उजुरी परेपछि राजपा सांसद प्रमोद कुमार शाहलाई प्रहरीले पक्राउ गरेको थियो।

साहलाई पक्राउ गरिएको विरोधमा राजपा कार्यकर्ताले बुद्ध एयरको नगर कार्यालयमा तालाबन्दी गरेका जनाइएको छ। सांसद साहको रिहाइको माग गर्दै राजपाले आझ बिहानबाट जनकपुरमा विरोध प्रदर्शनसमेत सुरु गरेको छ।

राजपाले आज बिहान १ घन्टा जनकपुरको रामानन्द चोकमा सडक अवरुद्ध गरेको छ। तालाबन्दीपछि बुद्ध एयरको नगर कार्यालय वरिपरि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसैबीच आजै सांसद साहमाथि अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले ४ दिनको म्याद दिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले ४ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको नेपाल लाइभलाई जानकारी दिए।

सांसद साहले सोमबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा बिहान ११ः४० मा आउनुपर्ने बुद्ध एयरको जहाज डिले भएको भन्दै काउन्टर तोडफोड गरेका थिए।

साहलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो। उनलाई अनुसन्धानको लागि हिजै काठमाडौंबाट धनुषा पठाइएको थियो।

विमानस्थलमा तोडफोडको आरोपमा पक्राउ परेका सांसद साहलाई ‘गैरसैनिक हवाई उडान ऐन २०१५’ अनुसार म्याद लिएर अनुसन्धान सुरु गरिएको एसपी खनालले बताए।