यस कारण जाँदाजाँदै भवन भट्ट फेल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष हुन् भवन भट्ट । उनको कार्यकाल सकिँदैछ । नयाँ नेतृत्वको लागि काठमाडौंमा मंगलबारदेखि नवौं महाधिवेशन चलिरहेको छ । भट्टले नेतृत्व हस्तान्तरण गर्ने बेलासम्म उनको कार्यकालको समिक्षा हुन थालेको छ । कुनै पनि नेतृत्वको असफलता र असफलता सिंगो संगठनमा आवद्ध व्यक्तिको भूमिकामा निर्भर गर्छ, तर यसको जस र अपजसको सिंगोभार भने नेतृत्वले लिनुपर्छ ।

दुई वर्षे कार्यकाल पूरा गरेका अध्यक्ष भट्टले आफ्नो कार्यकाललाई सुखद् बनाउन सकेनन् । भूकम्पपछिको पुनर्निर्माणको काममा सफलता हात पार्न नसकेको भट्टको कार्यकालमा संगठनमा आर्थिक संकलन कमी आएको एनआरएनहरुले बताउने गरेका छन् । अध्यक्ष भवन भट्ट निर्वाचित भएदेखि नै आफ्ना शुभचिन्तकमाझ टाढिँदै मात्रै गएका थिएनन्, एनआरएनको अपेक्षा भन्दा फरक तरिकाले एकलौटी ढंगले हिँडेको आरोप खेप्दै आएका थिए ।

एनआरएनएले चलाएका अधिकांश योजना कार्यान्वयन गर्न नसकेको आरोप खेपेका अध्यक्ष भट्ट नेतृत्वमा भएको नवौं महाधिवेशनको व्यवस्थापनमा पनि कमजोरी देखिएको छ । बुधबार मतदान कार्यक्रम राखेको भए पनि निर्वाचनका समयमा मेसिन बिग्रिएको खबरले लाइनमा बसेका सदस्यहरु दुखित भएका थिए । बिहीबार यो समाचार तयार पर्दासम्म पनि मतदान सुरु हुन नसकेको छैन । यसमा पनि अध्यक्ष भट्टको व्यवस्थापकीय कमजोरीको रुपमा सदस्यहरुले औँल्याएका छन् ।

बन्द सत्रमा आर्थिक पारदर्शीताको विषयमा महाधिवेशनमा लफडा भएको छ । विदेशमा बस्ने नेपालीको संगठन भनिए पनि यसको महाधिवेशनमा राजनीतिक रंग देखिएको छ । राजनीतिक दलका नेताहरु आफू पक्षीय उम्मेदवारलाई विजयी गराउन भन्दै महाधिवेशनस्थल होटेल हायात पुगका छन् । जसलाई अध्यक्ष भट्टले रोक्न सकेनन् ।