विप्लवलाई अर्को झट्काः मध्यपश्चिम कमाण्ड इञ्चार्जसहित २१ नेता कार्यकर्ता पक्राउ

दाङ । प्रहरीले विप्लव नेतृत्वको नपाल कम्युनिष्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका– ४ को मुग्रेटाखोला स्थित जंगलबाट २१ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा विप्लवका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा विप्प्लवका दाइ बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा विप्लव नेकपाको को बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार राति १ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद विक्रम शाहीले बैठक भइरहेको स्थानबाटै विप्लव नेता कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिए ।