प्रदेश नं १मा एमालेबाट तीन जना संसदीय दलको नेता बन्न दौडधुप

काठमाडौं (पास)– नेकपा (एमाले)को प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ । उक्त निर्वाचनबाट संसदीय दलको नेता भएपछि मात्रै मुख्यमन्त्री बन्ने बाटो खुल्ने भएपछि यतिबेला प्रदेश सांसदका रूपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरे पार्टीका प्रमुख नेताहरुका दैलो–दैलो चहारिरहेका छन् ।

उनीहरु तीनैजना मुख्यमन्त्रीको दाबेदार रहेको बताउँदै आएका छन् । राई ओली पक्षका हुन् भने आचार्य र घिमिरे नेपाल पक्षका हुन् । संसदीय दलको नेताका लागि दाबी गरेपछि निर्वाचन हुन लागेको हो । सो पार्टीको विधानअनुसार संसदीय दलका नेता नै मुख्यमन्त्री हुने प्रावधान छ ।

एमालेको विश्वस्त स्रोतले जनाएअनुसार अहिलेसम्मको आन्तरिक छलफल र समीकरणलाई आधार मान्ने हो भने राई नै प्रदेश नम्बर १ को मुख्यमन्त्री लगभग पक्का जस्तै भएको छ ।

प्रदेश नं १मा ९३ सांसदमध्ये ५१ जना एमालेबाट निर्वाचित भएका छन् । यस प्रदेशमा १४ जिल्ला पर्छ ।

यसैबीच प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सो पार्टीको इटहरीस्थित प्रदेश समिति सचिवालयले तीन सदस्यीय समिति गठन गरेको छ । सो समितिमा चूडामणि आचार्य, टीकाराम पुरी र प्रेम पोखरेल रहेका छन् ।