जनकपुर गोली काण्डः आफ्नै पैसा माग्न जाँदा गोलीद्वारा मारिए मनोज साह

जनकपुरधाम । जनकपुरधाममा आज बिहान गोली प्रहार गरी एक जनाको हत्या भएको छ । बुधबार बिहान करीब १० बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ स्थित मुजेलियाका पंकज भनिने शङ्कर चौधरीले गोली चलाउँदा जनकपुरधाम वडा नम्बर–१ बस्ने मनोज साहको मृत्यु भएको हो ।

पंकजको घरमा गएर पैसाको ताकेता गर्दा पंकजले ‘घरमा आएर किन पैसा मागेको रु’ भन्दै आवेशमा आएर मनोजमाथि गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट मृत्यु भएका मनोजको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । गोली प्रहार गरेका पंकज जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका छन् ।

प्रहरी हिरासतमा रहेका पंकजको साथबाट प्रहरीले एक थान अटोमेटिक पिस्तोल र त्यसमा लाग्ने गोली १९ थान र एक थान नलकटुवा पिस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली बरामद गरेको छ ।

पंकज निर्माण व्यवसायी हुन् । उनले सपहीमा रहेको मनोजको शिव आयल निगमबाट पेट्रोलियम पदार्थ किन्ने गरेका थिए । प्रहरीका अनुसार पंकजले मनोजको पेट्रोल पम्पबाट करिब १७ लाख रुपैयाँ बराबरको डिजेल लिएका थिए । जसबाट करीब ८ लाख रुपैयाँ उनले तिर्न बाँकी थियो ।

मनोजका आफन्तका अनुसार त्यही रकम असुल्नका लागि ताकेता गर्न उनी पंकजको घर गएका थिए । सोही क्रममा विवाद हुँदा मनोजको गोली हानी हत्या गरिएको हो ।