समस्यालाई मध्यनजर गर्दै पहिलोपटक स्याउ ढुवानी, ७ सय क्विन्टल अग्र्यानिक स्याउ बिक्री

कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताउनुभयो ।

मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण झन्डै एक करोडभन्दा बढी मूल्यको स्याउ बारीमै थन्किएको थियो । यसै समस्यालाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र बाजुराले पहिलोपटक स्याउ ढुवानी अनुदान सहयोग कार्यक्रम ल्याएको छ । बारीमै कुहिएर, आफन्तलाई दिएर वा आफूले खाएर र बाँकी केही मात्र आम्दानी गर्ने किसानको समस्यालाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र बाजुराले स्याउ ढुवानी अनुदान सहयोग कार्यक्रम ल्याएको हो ।

जसले ढुवानीका रु १३ देखि ५० मा बारीको स्याउ खरीद गरी बाजुरा जिल्लालगायत काठमाडौँ, चितवन, धनगढी, नेपालगञ्जसम्म पुगेर बिक्री भइसकेको ज्ञान केन्द्र बाजुरा जनाएको छ । ७०० क्विन्टल स्याउ बिक्रीबाट रु ५६ लाख बराबरको आर्थिक कारोवार भएको केन्द्र जनाएको छ ।

यो वर्ष माथिल्लो क्षेत्रका पाण्डुसैन, स्वामिकात्तिक र जग्गनाथको स्याउ सङ्कलन गरी बिक्री गरिएको कोशेलीघर बाजुराका अमर खड्काले बताउनुभयो । सङ्कलन र बिक्रीका लागि तीन सहकारी र एउटा अपुसा कन्स्ट्रक्सन एण्ड सप्लायर्सले जिम्मा लिएको थियो । बाजुराको अग्र्यानिक स्याउ नाम दिएर बजारमा आएको स्याउले अपेक्षाभन्दा बढी आम्दानी भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

पछिल्लो समयमा कृषि ज्ञान केन्द्र बाजुरा ढुवानी अनुदान कटाएपछि भने स्याउको मूल्य बढेर आएको कोशेलीघर बाजुराका खड्काले बताउनुभयो । कृषि ज्ञान केन्द्र बाजुराले अनुदान दिएको बेला स्याउको मूल्य मार्तडीमा रु ७५ ए ग्रेड, ७० बी ग्रेड र ६५ सी गे्रडमा पाइन्थ्यो भने अहिले सहकारीमार्फत् ढुवानी गर्दा रु ९० देखि ११० सम्ममा बिक्री वितरण भइरहेको छ ।

बाजुराको कागती काठमाडौँमा

बाजुराको कागती काठमाडौँ पुग्ने भएको छ । बाजुराको अग्र्यानिक कागती पहिलोपटक रु ९० केजीका दरले १० क्विन्टल काठमाडौँ पुग्ने भएको हो । गोलपान एग्रो कम्पनीमार्फत बजारीकरण हुने कृषि ज्ञान केन्द्र बाजुरा प्रमुख गोविन्द्र सिजापतिले बताउनुभयो । अहिले पहिलोपटक १०० क्विन्टल मात्र कम्पनीसँग सम्झौता भएको उहाँको भनाइ छ । पहिलोपटकको सम्झौताअनुसार कागती खपत भए अर्को पटक जिल्लाभरिको कागती खपत गर्न गोलपान एग्रो कम्पनीसँग सम्झौता हुने समझदारी भएको ज्ञान केन्द्र बाजुराले जनाएको छ ।