काग तिहार र यसको ऐतिहासिकता

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ ।

कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ । शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक शुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसैगरी लक्ष्मीस्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार बेलुकी नै मनाइन्छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । “काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससहित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान गर्ने क्रम भने शुक्रबार साँझदेखि नै शुरु भएको छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन धार्मिक विधि रहेको छ ।

धन्वन्तरि जयन्ती

काग तिहार सँगै आज धन्वन्तरि जयन्ती पनि एकैसाथ परेको छ ।
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवत्र्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ ।

आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडिबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

धन्वन्तरि जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड., जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।