कर्फ्यू अवज्ञा गर्दा कपिलवस्तुमा गोली चलायो, एकको मृत्यु

कृष्णनगर । हिन्दू र मुस्लिम समूदायबीचको झडपले तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णपुरमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सुरजकुमार पाण्डे छन् । हिन्दू र मुस्लिम समूदायबीच भएको झडपलाई नियन्त्रणमा लिन गोली चलाउँदा हिन्दू समुदायका युवा पाण्डेको मृत्यु भएको स्थानीयले जनाएका छन् ।

प्रहरीले भने गोली लागेर मृत्यु भएको विषयलाई अस्वीकार गरेको छ । खबरहबसँगको कुराकानीमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दीपशम्शेर राणाले स्थिति नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको बताए ।

लक्ष्मी पूजा गरेपछि मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच बुधबार राति नै तनावको स्थिति सिर्जना भएको थियो ।लक्ष्मी पूजा गरिसकेपछि हिन्दू समुदायका व्यक्तिहरुले कृष्णनगरको झन्डीनगरस्थित नदीमा मूर्ति विसर्जन गर्न लगेका थिए ।

तर, मुस्लिम समुदायका युवाहरुले मूर्ति विसर्जनमा अवरोध गरेपछि तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।स्थितिलाई नियन्त्रणमा लिन भनेर स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर तथा दक्षिण तर्फ पनि ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।