राप्रपा (संयुक्त)को आयोजमा जानकी–बुद्ध रथ यात्रा हुने !

राप्रपा (संयुक्त) का केन्द्रीय प्रवक्ता जनक राज पाठक का अनुसार जगत जननी सीता र भगवान बुद्धको जन्मभूमि नेपालको सभ्यता र इतिहास गौरवपूर्ण रहेको छ ।

मंगोलहरूको गौरवशाली संस्कृति, किरांत हरूको विरता, विद्वता युक्त मिथिला – सभ्यताको विरासत, सिम्रौनगढको वैभवशाली संस्कृति, मष्ठो सभ्यता सहित सिंजा राज्यको अदम्य साहस र बस्तुकला सहितको गौरवमय नेवारी संस्कृतिक परम्परा आज पर्यन्त नेपालको विशेषता र पहिचानको प्रतीक रहि आएको छ ।

माथि उल्लेखित विविधता विचको एकतालाई अक्षुण्ण कायम राख्ने महान अभियानका लागि धर्म सापेक्षताको पक्षमा चट्टान झैं उभिएर राप्रपा (संयुक्त) ले जानकी – बुद्ध रथ यात्राको आयोजना गर्न लागेको हो ।

सीताको जन्मभूमि जानकी मन्दिर जनकपुर बाट धार्मिक अनुष्ठान सहित आगामी कार्तिक २८ गते प्रारम्भ हुने धार्मिक रथयात्रा सिम्रौनगढ, गढीमाई, वाल्मीकि आश्रम त्रिवेणी सहितको ऐतिहासिक तिर्थस्थलको भ्रमण सहित मङ्सिर ४ गते भगवान बुद्वको जन्मस्थल लुम्बिनी पुगेर विशेष कार्यक्रमका साथ समापन हुनेछ ।

धनुषाबाट निस्कने धार्मिक रथ यात्रा महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपुर, परासी र रूपन्देही हुँदै लुम्बिनी पुग्ने छ भने सो यात्राका क्रममा गढीमाई बारा र गजेन्द्र मोक्षधाम वाल्मीकि आश्रम त्रिवेणीमा धार्मिक अनुष्ठानको आयोजना समेत गरिने छ ।

धार्मिक रथ यात्राका क्रममा विभिन्न स्थानमा हुने सभा तथा कोण सभालाई जगतगुरु सहित ॐकार धर्म गुरुहरू, सन्तहरूबाट सम्वोधन हुने कार्यक्रम तय गरिएको छ भने पार्टीका अध्यक्षद्वय पशुपतिशमशेर जबरा र प्रकाश चन्द्र लोहनी सो धार्मिक रथ यात्राको सारथि हुनेछन् ।

धर्म र संस्कृतिलाई एउटा जीवन्त राष्ट्रको पहिचान बनाउन अनि अनादिकालदेखि रहिआएको सर्वधर्म सापेक्ष सनातन हिन्दू राष्ट्र नेपाल कायम गराउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको साथ र सहयोगका लागि हामी आव्हान समेत गर्दछौं ।

हाम्रो धार्मिक रथ यात्रा अभियान कथनीमा मात्र अथार्थ नारामा मात्र सिमित रहने छैन । हामी हाम्रो गौरवशाली इतिहासको जगमा खडा रहेर जनताको सवलीकरण सहित एक्काइसौं शताब्दीको समृद्ध नेपाल निर्माण गर्न कृत संकल्पित छौं ।

जहाँ कानूनी समानता मात्र होइन अवसरको समानता पनि हुनु पर्दछ ।परम्परा र आधुनिकता एक अर्काको विरोधमा नभएर न्याय र समानताका लागि संवाहक बन्नुपर्दछ । राज्यको बल जनताको मुख बन्द गर्न होइन बहस र चिन्तनको प्रोत्साहनका लागि प्रयोग हुनुपर्दछ ।

सानो माछा खाएर ठूलो माछा मोटाउने अहिले सम्मको उदारवाद होइन – सानो माछाले पनि ठूलो बन्ने अवसर र सुनिश्चितताका लागि बहस र पैरवी प्रारम्भ गर्दै” प्रगतिशिल उदारवाद” अबको मार्गचित्र बन्नु पर्दछ ।