युवा सबै विदेशिएपछि हलो जोत्न बाध्य महिला, नजोते सबै जमिन बाँझै !

सल्यान । बन्गाडकुपिण्डे नगरपालिकास्थित राउचेकी २७ वर्षीया पुतली रानाले तिहारअघि लगातार ४ दिन हलो जोतिन् । घरमा पुरुष नभएपछि उनले तीन वर्षदेखि लगातार आफ्नो जग्गा आफैं जोत्दै आएकी छन् । उनका बाबु र दुई दाजुभाई मजदुरीका लागि लामो समयदेखि भारत बस्दै आएका छन् ।

ग्रामीण क्षेत्रका अधिकांश पुरुष मजदुरीका लागि बाहिरिएपछि महिलाले नै बाली लगाउने काम गरिरहेका हुन् । ग्रामीण क्षेत्रका युवा भारत र खाडी मुलुकमा मजदुरी गर्न जाने क्रम बढेपछि गाउँहरू पुरुषविहीन बन्न थालेका हुन् । अधिकांश गाउँमा उमेर नपुगेका बालक र वृद्ध मात्र छन् ।

व्यापारिक केन्द्र आसपासका क्षेत्रमा मिनी ट्रेलरको सहायताले खेतबारी जोतेर अन्नबाली लगाउने गरिएको छ । ‘घरमा पुरुष नभएकै कारण हलो जोत्न सिके, अहिले आफ्नो बारी आफै जोतेर लगाउन सक्छु,’ रानाले भनिन्, ‘गत वर्षदेखि अरु छिमेकी र आफन्तका घरमा समेत हलो जोत्दै आइरहेकी छु ।’

उनका अनुसार गाउँका अधिकांश महिलाले आफै हलो जोत्न सिकिसकेका छन् । गाउँ गाउँमा उमेर पुग्नबित्तिकै खाडी मुलुक जान युवाले हतार गर्ने गरेको उनी बताउँछिन् ।

साक्षर नभएका र प्रौढ अवस्थाका युवा मात्र अहिले भारतमा मजदुरी गर्न जाने गरेको उनले सुनाइन् । ढाकाटामकी तुलसा विकका पति ७ वर्षदेखि रोजगारीका लागि कतारमा छन् । ससुरा र दुई देवरले लामो समयदेखि भारतमा मजदुरी गर्दै आएका छन् ।

घरमा दुई छोराछोरीसहित बस्दै आएकी उनले पनि आफै हलो जोतेर अन्नबाली लगाउँछिन् । ‘घरमा काम गर्ने कोही छैन, सुरुमा वरपरका छिमेकीले समेत खिसी गर्थे,’ उनले भनिन्, ‘अहिले खिसी गर्ने महिलाले समेत आफै हलो जोत्न थाले ।’

उनले गाउँका केही महिलालाई हलो जोत्न सिकाएको सुनाइन् । उनका अनुसार गाउँका दुई दर्जन बढी महिलाले हलो जोत्न सिकिसकेका छन् । केही वर्षयता विकास निर्माण र सामाजिक कामसमेत महिलाकै भरमा हुन थालेको उनको भनाइ छ ।

दार्मा गाउँपालिकाको कौछेकी सावित्री सुनारले धानबाली काटेर गहुँबाली लगाउन खेतबारी जोत्दै आएको बताइन् । ‘अरुले खिसी गरे पनि अहिले लाज लाग्न छोडिसक्यो,’ उनले भनिन्, ‘महिलाले हलो नजोते सबै जमिन बाँझै रहन्छ, त्यसैले आफैं जोत्नुको विकल्प छैन ।’

उनका अनुसार पुरुष गाउँमा नहुँदा चुलोचौको, छोराछोरीको स्याहारसुसारदेखि खेतबारीको काम महिलाकै काँधमा छ । २वर्षयता अन्नबाली लगाउने समय घरमा पुरुष आए पनि आफैं जोत्न थालेको उनले सुनाइन् ।