सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले एक करोडसम्म घरजग्गा कर्जा पाउने

सामाजिक सुरक्षा कोषले आफूसँग आबद्ध योगदानकर्ता श्रमिकलाई १ करोड रुपैयाँसम्म घरजग्गा कर्जा दिने भएको छ ।

कोषले तयार पारेको लगानी कार्यविधिमा श्रमिकको आर्थिक सुनिश्चितताका लागि घरजग्गा कर्जासँगे शैक्षिक र सामाजिक कर्जासमेत समेटिएको छ ।

कोष सञ्चालक समिति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि यो कार्यविधि पारित गरिसकेकोले छिटै कर्जा योजनाहरु सञ्चालनमा आउने छन् ।

कोषले मूल्यांकनको ७० प्रतिशतसम्म घरजग्गालगायत सबैखाले कर्जामा ऋण प्रवाह गर्नेछ ।

जसको ब्याजदर बैंक तथा वित्तीय संस्थाको तुलनामा केही कम हुने बताइएको छ ।

कोषले ३५ लाख रुपैयाँसम्म शैक्षिक कर्जा प्रदान गर्नेछ । त्यस्तै सामाजिक कर्जा अधिकतम २५ लाख रुपैयाँसम्म उपलब्ध गराउनेछ ।

यी सबै कर्जाका लागि योगदानकर्ताले धितो भने राख्नुपर्नेछ । कोषले धितोको मूल्यांकनको अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्नेछ।

कर्जाको अवधि ५ वर्षदेखि १५ वर्षसम्मको हुनेछ ।

श्रमिकको आर्थिक सुनिश्चितका लागि सरकारले सामाजिक सुरक्षा कोष कार्यक्रम सञ्चालन गरेको हो ।

जसमा श्रमिकले आफ्नो पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत रकम कोषमा संकलन गर्नुपर्ने हुन्छ ।

कोषमा आबद्ध योगदानकर्ताले स्वास्थ्य, दुर्घटना, पेन्सन, उपदानलगायतका सुविधा पनि पाउनेछन् ।