७५ वर्षमा टिकट पाएका खेमराज पौडेल देउवाका साथी, भन्छन्ः ‘लालकिल्ला तोड्ने तयारीमा छु’

पोखरा । नारायण सिंह काण्ड नेपाली इतिहासमा चर्चित छ । २०२४ सालमा नाचघरमा नाटक प्रदर्शन भइरहेका बेला डीआइजी नारायण सिंहले छात्राहरुमाथि अभद्र व्यवहार गरेको विरोधमा विद्यार्थीहरुले आन्दोलन चर्काए । आन्दोलन चर्काउने विद्यार्थीमध्ये एक थिए, खेमराज पौडेल ।

कास्की पुम्दीभुम्दीबाट बुथ कमिटी सदस्य बनेर पौडेलले नेपाली कांग्रेसको राजनीति थालेको अर्को वर्षमा देशमा पञ्चायत सुरु भयो । पञ्चायत सुरु भएपछि संस्कृत साहित्य पढ्नका लागि बनारस पुगे । यता नेपालमा सुवर्णशमशेरको नेतृत्वको पञ्चायतविरुद्ध भण्डाफोर सुरु भयो । वनारस पढ्न पुगेका पौडेल २०१८ सालमा प्रजातान्त्रिक विद्यार्थी समितिको संस्थापक बने ।

वनारसबाटै पञ्चायतविरोधी आन्दोलनमा सहभागी बने । डीआइजी नारायण सिंहविरुद्ध आन्दोलन गर्न पौडेल नेपाल आए । बुटवलदेखि गोरखासम्म आन्दोलनकै मोर्चा लिएर पौडेल हिँडे । त्यसयता कांग्रेसमा निरन्तर सक्रिय पौडेल ‘अभागी नेता’ मानिन्छन् । किनकि उनले जीवनको ६० वर्ष कांग्रेस राजनीतिमा लगाए, तर न कुनै ठूलो पद पाए न सांसदका लागि हुने चुनावको टिकट ।

तर प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा कांग्रेस सभापति शेरबहादुर देउवा आफ्ना पुराना राजनीतिक सहयात्री समेत रहेका पौडेललाई नै टिकट थमाएका छन् । धनराज गुरुङ, देवराज चालिसेलाई पछार्दै टिकट पाएपछि उनी भन्छन्, ‘पार्टीले ढिलै भए पनि मूल्यांकन गर्‍यो ।’

शेरबहादुरसँग विद्यार्थी आन्दोलनमा लागेका पौडेलले कठिन अवस्थामा पनि उनलाई साथ दिए । शेरबहादुरले कांग्रेस फुटाएर प्राजातान्त्रिक कांग्रेस बनाउँदा पौडेलले नै कास्कीको नेतृत्व गरेका थिए । कांग्रेस कास्कीमा उनी अधिकांश नेताका ‘खेमराज दाइ’ हुन् भने पछिल्लो पुस्ताका नेताका ‘खेम बा’ ।

निरन्तर राजनीतिमा लागेका उनी कांग्रेस केन्द्रीय कमिटीको आमन्त्रित सदस्यभन्दा माथि पुगेनन् । कास्की कांग्रेसको राजनीतिमा भने सधैं केन्द्रमै रहे । वनारसबाट संस्कृत र साहित्यमा डिग्री गरेर फर्किएका पौडेलले शिक्षणसँगै राजनीति गरेका उनी कांग्रेसले नेतृत्व गरेको हरेक आन्दोलनमा सहभागी बनेका थिए।

लालकिल्ला तोड्छुः पौडेल

खेमराजले कांग्रेसबाट टिकट त पाए, तर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को लाल किल्ला भन्ने गरिएको ठाउँमा । यो क्षेत्रबाट रवीन्द्र अधिकारीले ह्याट्रिक मारे । पर्यटन मन्त्री हुँदा दुर्घटनामा उनको मृत्यु भएपछि मंसिर १४ मा उपनिर्वाचन हुँदैछ । र, नेकपाले उनकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

एक त विद्या अहिलेको बलियो पार्टीकी उम्मेदवार मात्र होइन, राजनीतिक लिगेसी र उनीप्रति सहनुभूति पनि छ । त्यसैले उमेर ७५ टेकेपछि मात्र पार्टीबाट पत्याइएका पौडेललाई चुनाव जितेर इतिहार रच्ने अवसर त छ तर सजिलो छैन ।

तर मनोनयन दर्ताको अघिल्लो दिनमात्र टिकट पाएका पौडेल भने नेकपाले भन्ने गरेको ‘लाल किल्ला’ तोड्न चाहन्छन् । खेमराज भन्छन्, ‘पार्टीले मूल्यांकन गरेर टिकट दिएको छ । म जितेर देखाइदिन्छु । म नेकपाको लाल किल्ला तोड्छु ।’