रोल्पाबाट विप्लव समूह पनि उपनिर्वाचनमा भाग लिदै

रोल्पाको थवाङ गाउँपालिका– १ मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका पार्टीका एक नेताले उम्मेदवारी दर्ता गराएका छन् ।

थवाङ वडा नम्बर १ मा रिक्त अध्यक्ष पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि बुधबार निर्वाचन अधिकृत कार्यालय पुगेर भद्रकुमार झाँक्रीले उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिन वडा नम्बर १ का निर्वाचित सदस्यसमेत रहेका झाँक्रीले मंगलबार गाउँपालिका अध्यक्ष बीरबहादुर घर्ती मगरलाई राजीनामा दिएका थिए ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष फर्कबहादुर बुढासहित सबै प्यानल स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

निर्वाचन आयोगमा पार्टी दर्ता नभएकोले त्यसबेला विप्लव पार्टीले चुनावमा भाग लिन मिल्दैनथ्यो । सोही कारण उनीहरूले कांग्रेससँग तालमेल गरी स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।

वडाध्यक्षका लागि बुधबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट जनककुमार बुढा, नेपाली कांग्रेसबाट कमल रोका र स्वतन्त्रबाट विप्लवका झाँक्रीले उम्मेदवारी दर्ता गराएका हुन् ।